पोखरा/ पोखरा रंगशाला भित्र छिरेपछि प्रायको आँखा नवनिर्मित फुटबल मैदानतिर जान्छ । पोखराको फुटबल इतिहासमै पहिलो पटक त्यति ठूलो प्यारापिटसहितको मैदान बनेपछि सबैको ध्यान जानु स्वभाविक पनि हो ।
रंगशालामा १७ हजार पाँच सय दर्शक क्षमतासहितको प्यारापिट निर्माण भइसकेको छ । जहाँ दर्शकले अब अन्तराष्ट्रियस्तरका कुनैपनि खेल हेर्न पाउनेछन् । तर, मैदानको प्यारापिट बन्न थालेको ३ वर्षसम्म भइसक्दा पनि पूरा हुन सकेको छैन ।
शनिबारमात्रै उक्त फुटबल एरिनामा नेपालको लिगको ऐतिहासिक खेल भयो । राष्ट्रिय ए डिभिजन लिग पहिलो पटक राजधानी छाड्दै गर्दा त्यसको अभिभावकत्व पोखराले ग¥यो । दर्शकको उपस्थिति पनि रामै्र थियो । तर, खेल हुँदै गर्दा खेलाडी तथा रेफ्रीले भने निकै सकस भोग्न बाध्य भए । कारण थियो – चेन्जिङ रुम र शौचालय नहुनु ।
बाहिरबाट हेर्दा च्याट्ट देखिएको रंगशाला भित्रबाट भने खोक्रो छ । अझ लिगका खेल नहुने भएको भए त बाँकी काम पनि अहिले नै हुने छाँटकाट थिएन । भएको काम पनि कास्की जिल्ला फुटबल संघका अध्यक्षको पटकपटक तोकतापछि मात्रै हुन सकेको अध्यक्ष मिलन गुरुङ दाबी गर्छन् । ‘हामीले निकै आग्रह गरेर यतिको बनाएका हौं,’ उनले भने ।
निकै कछुवा गतिमा हिँडेको काममा यस अघिपनि नेपाली पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुँदा केही कामहरु भएका थिए । प्रशिक्षण सकिएसँगै काममा पनि सुस्तता आयो । अहिले पनि लिगका खेल हुनेभएपछि मात्रै बाहिरका कामहरु भएका हुन् । ‘यहाँ विदेशी टिमसँगको मैत्रीपूर्ण खेल ल्याने तयारीमा छौं । त्यसका लागि खेलाडी र रेफ्रीले लुगा परिवर्तन गर्ने रुम र शौचालय हुन आवश्यक छ,’ गुरुङले भने ।
२०७५ सालमा निमार्ण सुरु गरिएको मैदान ६ महिनामा सकिने बताइएपनि ३ वर्षसम्म पनि सकिएको छैन । अहिले प्यारापिट समेत निर्माण भइसकेको छ । अफिसियल भवन, चेन्जिङ रुम, शौचालय तथा वाथरुम लगायतको कामहरु बाँकी छन् ।
अहिले फुटबल एरिना वरिपरि बाटो बनाउने काम चलिरहेको छ । तर, रकम निकासी नहुँदा काम गर्न ढिलाइ भएको प्रोजेक्ट म्यानेजर दीपक बरालले जानकारी दिए । काममा ढिला भएको स्विकार्दै बरालले रकम निकासी नहुँदा समस्या परेको बताए ।
विनियोजित रकम खाए : मन्त्री गुरुङ
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दिपक मनाङे’ले केन्द्र सरकारको बदमासीले काम हुन नसकेको बताए । मन्त्री गुरुङले निर्माणको जिम्मा केन्द्र सरकारमा रहेकाले विनियोजित रकम ‘खाएका’ले काममा ढिलासुस्ती भएको आरोप लगाए ।
‘केन्द्र सरकार भनेको यतिसारो फटाहा देखिसकें मैले । के गरेको तिनीहरुले ? बजेट रातो किताबमा लेखेर पठाउँछ बजेट झारिदिन्न,’ मन्त्री गुरुङले, ‘ठेकेदारहरुलाई एक रुपैयाँ झारिदिन्न, अनि कसरी गर्छ काम ? यही तालले गयो भने सायद अर्को चुनावमा मात्रै यो सम्पन्न हुन्छ ।’
फुटबल एरिनाको काम जति सकिएको छ त्यसमा एन्फाको सहयोगमा बनेको मन्त्री गुरुङको दाबी छ । ‘यो अहिले जतिपनि गरिरहेको छ यो एन्फाले नै दुख गरेको हो । एन्फाले आफ्नो पैसामा काम गरिरहेको छ,’ उनले भने, ‘सरकारले त महाधिवेश र अधिवेशन गर्दागर्दै ठिक्क छ । अब अर्को वर्ष आइहाल्छ र चुनावमा जान्छ ।’
ठेकेदारलाई गाली गर्ने कुनै ठाउँ नरहेको मन्त्री गुरुङको जिकिर थियो । तत्कालीन एमाले सरकारले विनियोजन गरेको रकमसमेत अझै नआइपुगेको उनले जानकारी दिए । ‘पाँच महिना भइसक्यो हामी आएको । पहिलेको सरकारले पठाएको रकमको त अहिलेसम्म साइन भएको छैन । नयाँ कहिले दिन्छ ?’ उनले भने ।
अहिले प्यारापिटसहितको मैदानको करिब ९८ प्रतिशत काम सकिएको छ । तर, खेलाडी तथा रेफ्रीका लागि आवस्यक पर्ने चेन्जिङ रुम र शौचालय भने अपूरै छ । २०७५ साल फागुन २६ गते फुटबल मैदान तथा दुई वटा प्यारापिट भत्काई नयाँ संरचनाको शिलान्यास तत्कालीन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए ।
रंगशाला पुननिर्माणको काम भारतीय ग्रेट स्पोर्टस इन्फ्रा तथा एम.ए कन्ट्रक्सन ललितपुर (संयुक्त)ले मैदानसहित प्यारापिट निर्माणको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले कम्पनीसँग १ अर्ब २८ करोड लागतमा निर्माण गर्ने गरी सम्झौतामा गरेको हो । १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट तयारी भइसकेको छ । ३ हजार ५ सय सिट थप्दै २० हजार पु¥याउने योजना छ ।





