बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले बागलुङको अधिवेशन : ‘चुनावसम्म एमाले थप सुधारिएको हुन्छ’

एमाले बागलुङको अधिवेशन : ‘चुनावसम्म एमाले थप सुधारिएको हुन्छ’


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७८, शुक्रबार

बागलुङ/नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिबेशन शुक्रबारदेखि सुरु भएको छ । अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरुले एमालेमा जनलहर सिर्जना गर्ने दाबी गरेका छन् ।
देशभरका ६१ जिल्ला अधिबेशनको भर्चुअल माध्यामबाट एकै पटक उद्घाटन भएको हो । जिल्ला अधिबेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा क्षति व्यहोर्नुपर्ने अबस्था आउन सक्ने संकेत गरेका थिए ।

बागलुङमा आयोजित समारोहलाई सम्बोधन गर्ने नेताहरुले भने अबको निर्वाचनमा बागलुङमा अहिलेको भन्दा सुधारिएको अबस्थामा पार्टी पुग्ने दाबी गरे । पार्टी सरकारमा हुँदा भएगरेका काम, पार्टीको नीति, राष्ट्रियताका सवालमा पार्टीको एजेण्डा संविधान निर्माणदेखि नाकाबन्दी सामना सम्मका पार्टीका गतिबिधिलाई जनताको माझमा पु¥याउन नेताहरुले कार्यकर्तालाई आग्रह गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीका पोलिटव्युरो सदस्य तथा खेलकुद विकास बिभागका प्रमुख लिलबहादुर थापाले एमालेमा नयाँ उर्जा सिर्जना भएको बताए । पार्टी र विकास निर्माणमा एमालेका एजेण्डा एकैसाथ लागुहुने भन्दै थापाले अहिलेको अवस्थाबाट पार्टीलाई माथि उकास्न कार्यकर्ताको भूमिका हुने बताए ।

अर्का पोलिटव्युरो सदस्य मनकुमारी केसीले जिल्लाको नेतृत्व छनौटमा बुद्धिमत्ता अपनाउन प्रतिनिधिहरुलाई आग्रह गरिन् । सहमतिमा छनोट भएको नेतृत्वले सबैका भावना समेट्ने उनको तर्क थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज गोबिन्द नेपालीले पार्टी निर्माण गर्ने अग्रजहरुको सम्झना गरे ।

नेकपा एमाले केन्द्रिय सदस्य जिल्ला सह–इञ्चार्ज इन्द्रलाल सापकोटाले अहिलेको सरकार खोज्नुपर्ने अबस्थामा पुगेको भन्दै एमालेमाथी भैरहेको घराबन्दी र आक्रमणका बिरुद्धमा लड्न कार्यकर्तालाई आग्रह गरे । एमाले केन्द्रिय सदस्य तथा बैदेशीक मामिला बिभागका उप प्रमुख कृष्ण केसीले माओवादी पार्टीले आफ्नो कार्यदिशा नै स्पष्ट गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा केन्द्रिय सदस्य डा. सूर्य पाठक, सावित्रा राना, प्रदेश कमिटिका सचिवालय सदस्य जनकराज पौडेल, ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपाली, संविधान सभासदस्य नरबहादुर थापा, नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचन, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष धर्मबहादुर कुँवरले बोलेका थिए ।

कार्यवहाक अध्यक्ष कृष्ण पाठकको अध्यक्षता, उप–सचिव गणेश थापाको स्वागत र सचिव बिष्णु भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नयाँ नेतृत्व चयनका लागि शनिबार बन्दसत्र सुरु हुने आयोजक कमिटिले जनाएको छ । पदाधिकारी लगायत सबै पदमा आकांक्षीहरु धेरै रहेकाले अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नेछ । शनिबार दिउँसो सम्ममा सहमति हुन नसके निर्वाचन प्रक्रियामा प्रवेश गर्ने आयोजकको तयारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->