स्याङ्जा/ श्रोत साधन तथा दक्ष जनशक्तीको अभाबमा बिरामी नपुग्ने जिल्ला अस्पताल स्याङ्जाले पछिल्लो क्रममा काँचुली फेरेको छ ।
पुतीबजार नगरपालिका ३, कुमाल गाउँमा २०५७ सालमा स्थापना भएको २५ शैयाको अस्पतालमा पहिला २–४ जनामात्र बिरामी पुग्ने गरेकोमा अहिले हरेक दिन एक सयभन्दा बढी बिरामी अस्पताल पुग्ने गरेका छन् ।
एक जना डाक्टरको स्विकृति रहेको यहाँ अहिले विशेषज्ञ डाक्टरसहित ७ जना एमबीबीएसले सेवा प्रदान गरेको अस्पताल प्रमुख डा रमेश अचार्यले बताए ।
सामान्य सिटामोल मात्र पाइने यहाँ बालरोग बिशेषज्ञ सेवा, स्त्रीरोग विशेषज्ञ सेवा, विशेष नवजात शिशु उपचार केन्द्र, ल्याब, दन्तरोग विशेषज्ञ सेवा, आखाँको उपचार, हर्निया अपरेसन सेवा, मृगौलाको डायलसिस सेवा पाउने डा आचार्यले जानकारी दिए ।
यहाँ जन्मेदेखि एक महिनासम्मको शिशुको उपचार गर्ने गरिएको छ भने विशेष नवजात शिशु उपचार केन्द्रमा सबै निःशुल्क सेवा प्रदान गरिएको छ । यो सेवामा भर्ना, खाना, बेड, औषधि ल्याब सबै निशुल्क अस्पतालमा पाउने गरिएको छ ।
अस्पतालमा सोडियम पोटासीयम टेस्ट, मृगौला, कलेजोको ब्याक्टोरिया कल्चर सेवा, मुटुको हर्ट एटेक्ट जाचँ, डीजीटल एक्सरे, भिडियो एक्सरे, इसीजी सेवा चौबिसै घण्टा पाइने गर्दछ ।
एचआइभी सिडिफोर जाचँ सेवा, गर्भवती आमाबाट बच्चामा एचआईभि सर्न नदिने उपचार सेवा (पीएमटीसीटी) सेवा प्रदान हुने गरेको छ ।
प्रदेश सरकारको पहलमा हेमो डाइलासिस, क्यन्टिन, अक्सिजन प्लान्ट, फोहोर मैला घर प्रदेश सरकारको सहयोगमा निर्माण भएको छ भने बिरामीको सुरक्षाको लागि १२ वटा सिसि क्यामेरा जडान एवं एसीसहितको सुत्केरी कक्ष रहेको छ । हाडजोनी र नशा सेवा भने अस्पतालमा उपलब्ध छैन ।
तस्वीर ः पुतली बजार नगरपालिका ३, कुमालगाउँमा रहेको जिल्ला अस्पतालमा विशेष नवजात शिशु उपचार केन्द्रमा उपचार गर्दै डाक्टर ।





