शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ताकममा प्याराग्लाइडिङ परीक्षण उडान सफल

ताकममा प्याराग्लाइडिङ परीक्षण उडान सफल


  • हरिकृष्ण गौतम
  • माघ १ २०७८, शनिबार
ताकमकोतबाट प्याराग्लाडिडका उडान गरेका अष्ट्रियाका एक अनुभवी पाइलट । तस्वीर सौजन्य कृष्णराज पौडेल

म्याग्दी/व्यवसायिक प्याराग्लाडिडको सम्भाव्यताबारे अध्ययन गर्न म्याग्दीको धवलागिरि गाउँपालिका ७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट गरिएको परीक्षण उडान सफल भएको छ । भ्रमणको सिलसिलामा अस्ट्रियाबाट आएका एक नागरिकले बिहीबार ताकमकोत परिसरबाट टेकअफ गरी ताकम गाउँको किमचोर फाँटमा ल्यान्ड गरेका छन् ।

समुन्द्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको कोत परिसरबाट सफल उडानपछि करिब आधा घण्टा आकासमा बिताएर अवतरण गर्ने क्रममा पर्यटक एवं पाइलट उत्साहित देखिएको स्थानीय युवा कृष्णराज पौडेलले बताए ।

‘परीक्षण उडानसफल भएको छ । यस क्षेत्रमा व्यावसायिक उडान सम्भव छ,’ उडान गरेका पर्यटकको भनाइ उदृत गर्दै पौडेलले भने । उनका अनुसार अष्ट्रियाका ती पर्यटकले सम्भावना भएका विभिन्न क्षेत्रका साथै आफ्नै देशमा उडान गरेको अनुभवसमेत रहेको बताएका थिए ।
ताकमकोतदेखि आसपासका क्षेत्रमा हावाको चाप र अन्य भौगोलिक हिसाबले प्याराग्लाडिङका लागि उपयुक्त भएको पर्यटकको भनाइ छ ।
ताकम आसपासका क्षेत्रमा लस्करै देखिने हिमश्रृंखलासहित प्रकृतिसँग रमाउन प्याराग्लाडिड उडान तथा प्रशिक्षण दुवैका लागि उपयुक्त भएकाले पहल आवश्यकता रहेको पर्यटकको भनाइ थियो ।

गाउँपालिकाले पहल गरेमा नागरिक उड्यनले उडान अनुमति दिएको खण्डमा निजी कम्पनी व्यावसायिक उडानका लागि आर्कषित गर्न सकिने बताइएको छ । प्याराग्लाडिडको परीक्षण उडानका लागि टेक अफ गर्ने स्थान ताकमकोत बनाएर अवतरण गर्ने जमिन ताकमको किमचोर आसपासमा ब्यवस्थापन गर्न सकिन्छ ।

ऐतिहासिक ताकम कोत मन्दिर पुननिर्माण गरी अन्य पर्यटन पूर्वाधार निर्माण भइरहेको अवस्थामा प्याराग्लाइडिङको सफल उडान भएपछि उत्साहित भएको ताकमका स्थानीय युवा गोपाल आचार्यले बताए । ताकम गाउँको शीरमा रहेको यो कोतमन्दिर १६ आँै शताब्दीमा तत्कालीन राजाले निर्माण गरेका थिए ।

ताकमकोतसम्म सडक पुगेकाले त्यहाँ दर्शन गरी प्याराग्लाडिडबाट ताकम आसपासमा आउन सकिने भएकाले पनि यस कार्यको सदुपयोग गर्नुपर्नेमा जोड दिइएको छ । यस क्षेत्रबाट आँखै अगाडि गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमश्रृंखाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

बाइसे/चौबीसे राज्यका पालामा थापा राजाले २०० वर्षसम्म राज्य सञ्चालन गरेको ताकम कोतमा पुजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विजया दशमीको नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बली चढाउन यस कोतमा भक्तजनको घुइँचो लाग्ने गर्छ । म्याग्दीका विभिन्न स्थानमा प्याराग्लाडिडको सम्भावना रहेपनि सरकारी निकायबाट अनुमति तथा विभिन्न झन्झटिलो प्रक्रियाले ब्यवसायीहरु आर्कषित गर्न नसकिएको धौलागिरी पर्यटन परिष्द म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए । उनले म्याग्दीको बेनी नगरपालिका भित्र समेत एकपटक परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->