बागलुङ/जिल्लामा पनि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप अभियान शुरु भएको छ । बागलुङ नगर स्वास्थ्य शाखाले सोमबार धमाधम खोप लगाएको हो ।
कोरोनाको तेस्रो लहर बढेपछि संक्रमितको संख्यासमेत तीब्र भएको छ । यहीं मौका छोपेर बागलुङमा बुस्टर खोप दिन थालिएको हो । कोभीसिल्ड र भेरोसेल खोपको दोश्रो मात्रा लगाएको ६ महिना पुरा भएकालाई बुस्टर डोज दिन थालिएको बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
आइतबारदेखि सुरु भएपनि सोमबारदेखि खोप लगाउनेको भीड लागेको छ । नगरपालिकाले थालेको अभियानमा उच्च अदालतका न्यायाधिसदेखि जनप्रतिनिधि, कर्मचारी समेतको भीड लागेको हो । यो खोप लगाउनका लागि टाढादेखि कर्मचारी र जनप्रतिनिधिहरु हिंडेर आएका थिए । खोपका लागि भीड बढेपछि प्रहरीले लामबद्ध भएर लगाउन आग्रह गरेको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
बागलुङका लागि ५ हजार बुस्टर डोज आएकोले पालो मिलाएर खोप लगाउने तयारी भएको खनालले जानकारी दिए । पहिलो चरणमा कर्मचारी र जनप्रतिनिधि, दोश्रो चरणमा स्वास्थ्यकर्मी र पत्रकार तथा त्यसपछि मापदण्ड पुरा भएका क्षेत्रमा क्रमशः खोप लगाइने खनालले बताए ।
अत्यावस्यक सेवामा लागेका तथा जोखिमको क्षेत्रमा काम गर्नेलाई प्राथमिकता दिएर खोप लगाइएको खनालको भनाई छ । त्यसबाहेक नियमित खोप अभियान, कोरोना परीक्षणका काम भने भैरहेका छन् ।





