बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्लागण्डकी माओवादी कमिटी : पदाधिकारी छान्नै धौ !

शुक्लागण्डकी माओवादी कमिटी : पदाधिकारी छान्नै धौ !

माओवादीको गण्डकी प्रदेश कमिटीमा अध्यक्ष र प्रदेश कमिटी सदस्य मात्रै चयन गरिएको छ । केन्द्रीय कमिटीमा पनि अध्यक्ष र केन्द्रीय सदस्य चयन हुँदा अन्य पदाधिकारी बाँकी छ ।


  • विनोद ढुंगाना
  • माघ ३ २०७८, सोमबार

तनहुँ/नेकपा माओवादी केन्द्रले देशभर एक साथ ११ मंसिरमा प्रथम गाउँ तथा नगर अधिवेशनको मिति तोक्यो । तोकिएको मितीमा तनहुँका आठ स्थानीय तहमा अधिवेशन सुरु भयो । १० मध्ये नौ स्थानीय तहमा केही दिन ढिला भएर पनि सर्वसम्मत नयाँ नेतृत्व चयन गरियो । शुक्लागण्डकी नगरपालिकामा भने अधिवेशन सुरु भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत नेतृत्वको टुंगो लागेको छैन ।
११ मंसिरमा अधिवेशन सुरु भएको दिन शुक्लागण्डकीमा ६५ सदस्यीय नगर कमिटी घोषणा भएको थियो । पदाधिकारीमा उम्मेदवारको संख्या अधिक भएपछि सहमतिका लागि भन्दै १८ मंसिरसम्म नगर अधिवेशन सरेको थियो ।
सरेको मितिसम्म पदाधिकारीमा सहमति नभए निर्वाचनमार्फत टुंगो लगाउने उल्लेख गरेपनि अझैसम्म माओवादीको शुक्लागण्डकी नगर कमिटी पदाधिकारीविहीन बनेको छ । पदाधिकारीको टुंगो लगाउन माथिल्लो कमिटीका नेताहरु असफल देखिन्छन् । पदाधिकारीको छिनोफानो लगाउन कसरतमा जुट्नुपर्ने नेताहरु नै आ–आफ्ना निकटलाई पदाधिकारी बनाउने दौडमा छन् ।
नगर कमिटीलाई पदाधिकारीमा सात जना आवश्यक रहेकोमा १६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । नगर कमिटीको अध्यक्षका उम्मेदवार मनराज गुरुङ, शरण सापकोटा र भद्रबहादुर खत्री (विष्णु) हुन् । गुरुङ हाल नगर कमिटिका सचिव हुन् । सापकोटा वाइसिएलको तनहुँ इञ्चार्ज र खत्री माओवादी केन्द्रको जिल्ला समन्वय समितिको सचिवालय सदस्य हुन् ।
खत्रीले सहमती भएको खण्डमा आफ्नो उम्मेदवारी फिर्ता लिने बताउँदै आइरहेका छन् । अध्यक्षमा मुख्य लडाइँ गुरुङ र सापकोटाबीच देखिन्छ । गुरुङलाई मुक्ति सिग्देल समूहको साथ छ । सापकोटालाई केन्द्रीय सदस्य आशा कोइराला नगर कमिटी अध्यक्ष बनाउन लागि परेको चर्चा छ ।
कोइरालाले सर्वसम्मत भएको खण्डमा आफ्ना श्रीमान् दिनेश गौतम (विश्वजित)लाई नगर कमिटी अध्यक्ष बनाउन चाहन्थिन् । तर, गौतम सर्वसम्मत हुने छाँट नदेखिएपछि उम्मेदवारी दर्ता नै भएन। र, केन्द्रीय सदस्य कोइरालाको जोडबल सापकोटालाई नगर कमिटी अध्यक्ष बनाउनेमा छ । गुरुङ र सापकोटाले अध्यक्षमा आफ्नो दाबेदारी कुनै हालतमा नछाड्ने मनस्थितिमा छन् ।
नगर कमिटी उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो । रामचन्द्र भण्डारी, चेतनारायण पौडेल, बुद्धिबहादुर खत्री, जौमाया बराल सुनार र राजु रानाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एक महिलासहित तीन जना निर्वाचित हुने प्रावधान छ । जौमाया बराल सुनारले नगर कमिटीबाट राजिनामा दिएर प्रदेश कमिटी सदस्य भइसकेको अवस्था छ ।
सचिवमा जीवन पोखरेल र अनिल तिवारी, सहसचिवमा अनिष ढकाल, सुमन आले, विनोद पौडेल र मिलन महतको दाबी छ । कोषाध्यक्षमा पहलसिं विक, झ्यामकुमारी थापाको उम्मेदवारी दर्ता भएको छ ।
विशेष त नगर कमिटीको अध्यक्ष पदमा कुनै हालतमा सर्वसम्मत नहुने बताइन्छ । ‘सहमतिको सम्भावना अब देखिँदैन। अन्तिम विकल्प भनेको निर्वाचन नै हो,’ अध्यक्षका एक उम्मेदवारले भने । नेतृत्वको असक्षमताको कारण पदाधिकारी चयनमा ढिलाइभइरहेको उनले बताए । ‘पार्टीको नगर कमिटी लामो समयदेखि नेतृत्वविहीन हुँदाजनतामा गलत सन्देश प्रवाह हुन्छ । त्यतातिर नेताहरुको ध्यान पुग्न सकेको छैन,’उनले भने ।
पार्टीको निर्देशन अनुसार सहमतिमै पदाधिकारी चयन गर्नलाई कोशिष भइरहेको पार्टीले बताउँदै आएको छ । ‘सहमतिमै नेतृत्व चयन गर्न पार्टीले भनेकाले हामीले सहमतिको प्रयास ग¥यौं । सहमति नभएको हुनाले निर्वाचन गराउन माथिल्लो कमिटीसँग अनुमति मागेका थियौं । सहमति नै गर्नुस भन्ने भो । त्यसपछि प्रदेश र केन्द्रको अधिवेशनमा लाग्नुप¥यो । अहिले फेरी कोरोनाले रोकेको छ,’ केन्द्रीय सदस्य आशा कोइरालाले भनिन् ।
यो साता जसै पदाधिकारी चयन हुने उनको दाबी छ । ‘जुन पदमा सहमति हुँदैन ती पदमा निर्वाचन गराउँछौं,’ कोइरालाले भनिन् । माओवादीको गण्डकी प्रदेश कमिटीमा अध्यक्ष र प्रदेश कमिटी सदस्य मात्रै चयन गरिएको छ । केन्द्रीय कमिटीमा पनि अध्यक्ष र केन्द्रीय सदस्य चयन हुँदा अन्य पदाधिकारी बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->