बागलुङ/आसन्न राष्ट्रिय सभाका निर्वाचनका उमेदवारले नीति निर्माणदेखि विकास निर्माणमा समानुपातिक बजेट बितरणमा पहल गर्ने बताएका छन् । उनीहरुले जनताको आधारभूत आवस्यकतामा बढी संवेदनशिल बन्न सरकारको ध्यानाकर्षण गर्ने समेत बताए ।
मंगलवार बागलुङका स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सांसद र राजनीतिक दलका नेता तथा कार्यकर्तासँगको भेटमा उनीहरुले संविधानको संरक्षणमा ध्यान दिने प्रतिवद्धता जनाएका थिए । ‘संविधान मास्ने की जोगाउने भन्ने एजेण्डाबाटै संयुक्त गठबन्धन बनेको हो, त्यसैले यो क्षेत्रमा एकजुट भएर लाग्छौं’ माओवादी केन्द्रका नेता तथा उमेदवार सुरेश आलेमगरले भने, ‘गठबन्धन भनेको भोट हाल्न मात्र हैन, बिकास निर्माणलाई साझा बुझाइ बनाएर अगाडि बढ्न पनि हो ।’
कार्यक्रममा कांग्रेसकी नेता कमला पन्त, अर्का समावेशी उमेदवार भुवन बिश्वकर्मा, नेपाली कांग्रेसका जिल्ला सभापति जितबहादुर शेरचनको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका सचिव भीमलाल पोखरेलको स्वागत र माओवादीका जिल्ला अध्यक्ष ज्ञामनाथ गैरेको संचालनमा सम्पन्न कार्यक्रममा जिल्लाका बिभिन्न पालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरप्रमुख तथा उपप्रमुखहरु आएका थिए ।
बागलुङमा गठबन्धनका तर्फबाट १३ जना स्थानीय प्रतिनिधि र ६ जना प्रदेश सांसद गरी १९ जना मतदाताले मतदान गर्न पाउने व्यवस्था छ । गठबन्धनका लागि कांग्रेस, माओवादी, राजमो, नेकपा समाजवादी लगायतका दल सहभागि छन् ।
नेपाली कांग्रेसद्वारा जैमिनी घटनाको बिरोध
बागलुङको जैमिनीमा आयोजित मेलामा भएको झडपमा कांग्रेस कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले कुटपिट गरी घाइते बताएको आरोप लगाइएको छ ।
कांग्रेस कार्यकर्ता लेखबहादुर थापा ‘रोहित’ कुटाइबाट गम्भिर घाइते भएको र उनलाई उपचारकालागि पोखरा पठाइएको कांग्रेसले जनाएको छ । उक्त घटनामा राजमोका कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको आरोप छ ।
कांग्रेस जिल्ला कार्यसमितिका सदस्य समेत रहेका थापामाथी आक्रमण भएको घटना दुःखद भएको भन्दै कांग्रेसले विज्ञप्तीमार्फत बिरोध गरेको छ । साथै घटनाका दोषी पक्राउ गरी कारवाही गर्न माग गरिएको छ ।
सभापति जितबहादुर शेरचनले जारी गरेको विज्ञप्तीमा कारवाहीसहित कानूनी उपचारको पनि माग गरेका छन् । त्यस्तै नेपाल तरुण दलले पनि बिज्ञप्ती निकालेर घटनाको बिरोध गरेको छ ।





