
म्याग्दी/काम खोज्दै भारत जाँदा हराएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५, शिख स्वातकी एक महिलाको पाँच दशकपछि बल्ल उद्धार गरिएको छ । रोजगारको सिलसिलामा ५० वर्षअघि भारत पुगेकी ७४ वर्षीया रामसुबा तिलिजाको भारतको मेघालायन राज्यको एक बस्ती बाट उद्धार गरिएको हो ।
परिवारका सदस्य र गाउँलेले समेत आस मारिसकेको अवस्थामा कोइलाखानी नजिकै एक प्लास्टिकको छाप्रोमा अलपत्र अवस्थामा रहेको जानकारी लगत्तै ४ जनाको टोली पुगेर घर ल्याएको हो ।
उमेरले साथ दिदाँसम्म्म मजदुरी गरेपनि बुढेशकालमा बिरामी भई अलपत्र परेको अवस्थामा सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि खोजीकार्य गरी उद्धार गरिएको सरु पाइजा पुनले बताइन् । ‘उहाँलाई आफन्तको खोजीमा धेरै वर्ष कष्टकर जीवन बिताउनुभएको रहेछ । हामी त्यहाँ पुग्दा निकै उत्साहित हुनुभयो,’ पुनले भनिन् ।
घरेलु मजदुर तथा विभिन्न काम गरेर बसेको अवस्थामा स्थानीयबासीले समेत सहयोग गर्ने गरेको पाइएको उद्धारकर्ता एवं नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति क्या. बलबहादुर तिलिजाले बताए । ‘उहाँ भेटिनुहुन्छ भन्ने कल्पनासमेत गरेका थिएनौं । एक्कासि जीवित रहेको खबर आएपछि भारतमै पुगेर ल्याएका छौं,’ तिलिजाले भने ।
उद्धारमा क्या. तिलिजासहित टेकबहादुर तिलिजा, सरस्वती पाइजा र सीता पाइजाको टोली रामबुबा बसेको स्थानमै पुगेको थियो । करिव २४ वर्षको उमेरमा घरबाट म्याग्दीभित्रै काम गर्ने भन्दै उनी घरबाट बाहिरिएकी थिइन् ।
घरबाट निस्केर नफर्र्किएपछि लामो समयसम्म खोजीकार्य समेत चलेको थियो । तर, कुनै अत्तोपत्तो नपाएपछि आशै मारेका स्थानीय तथा आफन्त अहिले उनको घरफिर्तीसँगै उत्साहित र खुसी भएका छन् । खोजीकार्यका लागि स्थानीयबासीले समेत विभिन्न अभियान नै सञ्चालन गरेका थिए ।
पाइन् नागरिकता
भारतबाट उद्धार गरी जिल्ला प्रशासन कार्यालयबाट ७४ वर्षको उमेरमा नागरिकतासमेत बनाएकी छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले कानुनी प्रक्रिया पूरा गरी रामसुबालाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
नागरिकता लिएर आफन्तसँगै ५० वर्षपछि घर फर्किएकी रामसुबाले गाउँमै मर्ने चाहना पूरा भएको भन्दै सबैलाई धन्यवादसमेत दिइन् । उनी गाउँमा पुगेपछि निकै खुसी भएको उद्धारमा खटिएकाहरुको भनाई छ । उद्धारको अवधिमा सहयोग गर्ने सम्पूर्णलाई उद्धारमा खटिएको टोलीले धन्यवादसमेत दिएको छ ।





