बेनी/ ५० सैयाको बेनी अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि आगामी आइतबारदेखि एक साताका लागि बहिरंग सेवा (ओपीडी) सेवा बन्द गरिने भएको छ ।
अस्पतालमा चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि माघ ९ गतेदेखि १४ गतेसम्म ओपीडी सेवा बन्द गरिने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलले बताए । ‘ओपीडी सेवाका लागि जनशक्तिको अभाव छ । संक्रमित सबै चिकित्सक र स्वास्थ्यकर्मी आइसोलेसनमा हुनुहुन्छ,’ डा. कँडेलले भने । अस्पतालमा कोरोनासँग लक्षण मिल्ने बिरामीलाई बिश्रामस्थलमा फिबर क्लिनिक सञ्चालन गरिने छ ।
कोरोना संक्रमणकै कारण जनशक्ति अभाव भएपनि जटिल सल्यक्रिया, प्रसूतिसहितका सेवाहरु भने सञ्चालन हुने छ। एकैपटक अस्पताल भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना देखिएपनि अति आवश्यक सेवाहरु भने निरन्तर उपलब्ध रहेको बेनी अस्पतालले जनाएको छ ।
आकस्मिक कक्षसहित फिबर क्लिनिमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी संक्रमणमुक्त भएकाले ढुक्क भएर सेवा लिन समेत अनुरोध गरिएको छ। यसैबीच एक सातापछि सहज अवस्था नभएमा अस्पतालले हेल्लो डक्टर सहितको थप सेवाहरु सञ्चालन गर्ने जनाइएको छ ।





