याङ्जा/ नेकपा एमाले केन्द्रीय सचिव, पूर्वमन्त्री तथा संघीय सांसद पद्मा अर्यालले वर्तमान गठबन्धन सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाएकी छन् । संविधान संशोधन गर्दै चुनाव सार्नु चुनावबाट भाग्न खोज्नु नै रहेको उनको जिकिर छ ।
प्रेस चौतारी नेपाल स्याङजाको पाँचौ अधिवेशनको उद्दघाटन गर्दै सांसद अर्यालले निर्वाचन पर सार्नु कानूनी नभएर राजनितिक प्रश्न भएको र विभिन्न पार्टीहरु असुरक्षित हुँदा चुनाव सार्ने प्रपञ्च गरिएको जिकिर गरिन् । चुनावलाई धकेल्नु भनेको देशलाई संकटमा पार्नु भएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मी, एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष सुष्मा पौडेल, पे्रस चौतारी केन्द्रिय सदस्य हिमलाल पराजुली, नेपाली कांग्रेस जिल्ला उपसभापति केदार काफ्ले, एमाले नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रमेश अर्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष राधाकृष्ण डुम्रे लगायतको शुभकामना मन्तव्य राखेका थिए ।
पाँचौं जिल्ला अधिवेशनले हरिप्रसाद सुवेदी (सुशिल) को अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
सुवेदीको अध्यक्षतामा दुई सदस्यीय पछि थप गर्ने गरी १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा मणिप्रसाद अर्याल र कला राना, सचिवमा जीवन अर्याल, कोषाध्यक्षमा माधव गैह्रे, सहसचिवमा सुनिल न्यौपाने र राधाकृष्ण शर्मा रहेका छन् ।
सदस्यहरुमा मोहन सुनार, हरि अर्याल, पुर्णिमा नेपाली, अनिता गौतम, नारायण चापागाई, माधवप्रसाद रेग्मी, सविन लामिछाने, द्रवेन्द्रदेव खनाल र नारायणप्रसाद कोइराला छन् ।
पाँचौं जिल्ला अधिवेशनका अवसरमा चौतारीले संस्थापक अध्यक्ष र पूूर्व अध्यक्षलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे, पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य हिमलाल पराजुली सम्मानित भएका हुन् । यसैगरी तीनजनालाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत समेत गरिएको छ । गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कारबाट कला राना, इन्द्र ईना स्मृति पुरस्कारबाट मोहन सुनार र सुनिल न्यौपानेलाई नगद र सम्मानपत्रले सम्मान गरिएको हो । गुप्ततारा पुरस्कारको राशि १० हजार र इन्द्र ईनाको पुरस्कार राशि ५÷५ हजार रहेको छ ।





