बेनी/ बेनी नगरपालिका–६,ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ । अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
आगलागीबाट घरभित्र रहेको सुन र चाँदीका गरगहना, नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षती भएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले बताए । उनका अनु्सार आगलागीबाट करिब १५ लाख बराबरको क्षती भएको छ । आगलागी नियन्त्रणका लागि अर्थुङेमा रहेको नेपाली सेनाको टोली सहित स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा गरिएको थियो । आगलागी विद्युत सर्टबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
यसैबीच आगालागीबाट विस्थापित भएका खत्री परिवारलाई तत्काल गंगा जिसी फाउण्डेशन म्याग्दीले वडा कार्यालयमार्फत लत्ताकपडा र भडावर्तन खरिदका लागि १५ हजार बराबरको सहयोग हस्तान्तरण गर्ने जनाएको छ । फाउण्डेशनका अध्यक्ष नारायण जिसीले पीडितलाई तत्काल राहतका लागि उक्त सहयोग गर्न लागिएको बताए । आगलागीबाट विस्थापित उक्त परिवारका चार सदस्यलाई वडा कार्यालयमार्फत राहतका लागि समन्वय समेत गरिएको छ। विस्थापित छिमेकीको घरमा बसेका छन् ।





