काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् । सोमबार साँझ कांग्रेसका बागमती प्रदेश समिति सभापति इन्द्र बानियाँको नेतृत्वमा बालुवाटार पुगेका नेताहरूसँगको छलफलमा देउवाले जेठ पहिलो सातामा स्थानीय तहको निर्वाचन हुने बताएका हुन् ।
देउवाको भनाइलाई उदृत गर्दै कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण गिरीले भने, ‘स्थानीय तहका पदाधिकारी कार्यावधि सकिनुअघि सरकार निर्वाचन गर्न तयार छ ।’
स्थानीय तहका जनप्रतिनिधिको कार्यावधि जेठ ५ गते सकिँदैछ । तर, २०७४ सालमा तीन चरणमा भएको निर्वाचनलाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा कार्यविधिको विषयलाई एकमत छैन । स्थानीय तहसम्बन्धी ऐन र संविधान बाझिएको भन्दै संशोधन गर्नुपर्ने पक्षमा छन् ।
यस्तै, प्रधानमन्त्री देउवाले आजै स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगसँग परामर्श गर्ने कार्यक्रम रहेको नेता गिरिले बताए ।
‘आज उहाँ (देउवा)ले आयोगसँग परामर्श गर्दै हान्नुहुन्छ‚’ उनले भने, ‘त्यसपछि निर्वाचनको मिति तय होला । उहाँ संविधानअनुसार स्थानीय तहको निर्वाचन गर्न तयार हुनुहुन्छ ।’





