पोखरा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका जनसंगठनहरुले तत्काल स्थानीय निर्वाचन घोषणा गराउन माग गरेका छन् । मंगलबार कास्कीका निमित्त सिडिओ कृष्णचन्द्र पौडेलमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सो माग गरेका हुन् ।
‘नेपालको संविधानले स्थानीय तह, प्रदेश तह र संघीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरेको छ । प्रदेश र संघीय तहमा व्यवस्थापिकाको निर्वाचन हुने र व्यवस्थापिकामा बहुमत प्राप्त गर्ने दलबाट कार्यकारी निर्वाचित हुने व्यवस्था छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘तर, स्थानीय तहको हकमा कार्यपालिकाको निर्वाचन जनताबाट प्रत्यक्ष हुने प्रावधान छ ।’ ज्ञापनपत्रमा संविधानको धारा २१५ र २१६ ले गाउँ÷नगर पालिकाको अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचित हुने र निर्वाचित मितिले पाँच वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको स्मरण पनि गराइएको छ ।
संवैधानिक स्पष्ट व्यवस्थालाई अपव्याख्या गरी स्थानीय तहको निर्वाचन पर सार्ने षड्यन्त्रमा गठबन्धन सरकार लागिरहेकाले जनदबाब स्वरुप ज्ञापन पत्र बुझाइएको प्रेस चौतारी कास्कीका अध्यक्ष तथा एमाले कास्कीका जिल्ला कमिटी सदस्य अर्जुन गिरीले बताए ।
जनसंगठनले मुलुक गठबन्धन सरकारको नेतृत्वमा पुगेसँगै महिला, बालबालिकामाथिकोे लैगिंक हिंसाजस्ता अपराधजन्य सामाजिक घटनाहरु बढेको र यस्ता गतिविधिका कारण मुलुकमा सुशासन, शान्ति सुरक्षामा बढेको चुनौतिप्रति सरकार गम्भीर नबनेको आरोप पनि लगाएको छ ।





