शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मंगलाका वडामै गर्भवतीको अल्ट्रासाउन्ड

मंगलाका वडामै गर्भवतीको अल्ट्रासाउन्ड


  • हरिकृष्ण गौतम
  • माघ २५ २०७८, मंगलबार

बेनी/ म्याग्दीको मंगला गाउँपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ । ग्रामिण ’अल्ट्रासाउन्ट’ कार्यक्रमअन्तर्गत पायक पर्ने स्थानमा पुगेर सेवा दिने गरी वडा नंबर १ कुहुँबाट अभियानको सुरु गरिएको हो । वडाभित्र रहेका गर्भवती महिलालाई स्वस्थ राख्न तथा आधारभूत सेवा तथा समस्याका बारेमा कार्यक्रमले सघाउनु अभियानको उदेश्य भएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताइन् । ‘गर्भवती, गर्भको बच्चा र प्रसूतिको समयमा आउन सक्ने जटिलतालाई न्यूनीकरण गर्न सहज भएको छ,भविष्यमा थप सुविधा सहित टोलमै पुग्छौ’, उपाध्यक्ष केसीले भनिन् ।

शिविरमा गर्भ परीक्षण गराएका गर्भवतीको पेटमा बच्चाको अवस्था असन्तुलित रहेमा थप उपचारका लागि बेनी अस्पतालमा पठाउने, गर्भवती महिलाले अपनाउनुपर्ने र जोखिम न्यूनीकरणका लागि आवश्यक सुझावसमेत दिइएको उनले बताइन् । गण्डकी प्रदेश सरकार र बर्नहार्ट परियोजनाको साझेदारीमा सञ्चालित कार्यक्रममा प्रत्येक महिनाको ४ गते बरंजा, ६ गते अर्मन र २० गते कुहुँको स्वास्थ्य शिविरबाट ५ वटै वडाका गर्भवती महिलाले सेवा लिने मंगला गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

अभियानको सुरुवात गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना, लेखा संयोजक लेखनाथ अधिकारी, अनमी राधा आचार्य लगायतको उपस्थिति रहेको थियो ।गर्भवती भएको जानकारी हुनासाथ पहिलोपटक, गर्भवती भएको चारदेखि पाँच महिनामा दोस्रोपटक र सातदेखि आठ महिनामा तेस्रोपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ । गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसूति हुने समयमा हुनसक्ने जटिलतालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको परामर्शअनुसार अन्य समयमा पनि भिडियो एक्सरे गर्न आवश्यक रहेको र यसो नगर्दा आमा र शिशु दुवैलाई समस्या हुने स्वास्थ्यकर्मीको भनाइ छ । वडामै सेवा पुगेपछि सदरमुकामा धाउनुपर्ने बाध्यता हटेको भन्दै गर्भवती महिला समेत उत्साहित छन् ।

यता गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले विगतमा वडास्तरमै पुगेर एकीकृत स्वास्थ्य शिविरमार्फत सेवासमेत दिइएको बताउँदै नवजात शिशुको सुरक्षाका लागि नयाँ अभियानको सुरुवात गरिएको बताए । ‘कोरोनाको डरले नियमित चेकजाँच प्रभावित भएको थियो,समुदायस्तरमै पुगेर दिने सेवा बढाउने सोचमा छौं’, अध्यक्ष रोकाले भने । उनले निर्माणधीन अवस्थामा रहेको अस्पतालको काम सकिएपछि जिल्ला अस्पतालमा प्राप्त हुने सबै किसिमको सेवालाई गाउँपालिकामै दिने समेत बताए । मंगला गाउँपालिका भित्र वार्षिक ४ सयभन्दा बढी गर्भवती महिला रहेकाले समयमै चेकजाँचसहित औषधी सेवन गरेमा मात्रृ, शिशु मृत्युदरसमेत घट्छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->