बेनी/ म्याग्दीको पर्यटकीयस्थल टोड्केमा हाइअल्टीच्युड खेलमैदानको निर्माण सुरु भएको छ । जिल्लाको रघुगङ्गा, मङ्गला,गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेदैं खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माणको कार्य सुरू भएको हो ।
हाई अल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले पहिलो चरणमा रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता गरिएको छ । पहिलो चरणमा ग्याविन लगाउने तथा कटिङ गरिने झिँ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए । ‘सम्झौता अनुसार समयमै योजना सम्पन्न गर्न वडामार्फत सक्ने सहयोग हुन्छ,अब खेलकुदप्रेमीसमेत टोड्केमा आउने वातावरण बन्दैछ’, वडाध्यक्ष शेरपुञ्जाले भने । निर्माणधीन खेलमैदानबाट धौलागिरी सहितमनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको टोड्केमा हाइअल्टीच्युड खेलमैदानका लागि पर्खालसहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाइने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । ‘नजिकै धौलागिरी हिमाल देखिन्छ,खेलमैदान नेपालमै नमुना बनाउन सम्भव छ’, सुवेदीले भने । टोड्केको मालिका मन्दिर आसपासमा बन्ने खेलमैदान नजिकै गुराँसको घना जंगल समेत रहेकाले सिजनमा राताम्मे गुराँस, चाँदीजस्तै टल्किने हिमाल हेदैं खेलकुद गतिविधिको अवलोकन समेत गर्न सकिने बताइएको छ ।
खेलमैदान निर्माण गर्न रु ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएपनि कुल ५ करोडभन्दा बढी लागतमा थप संरचना समेत बनाइने जनाइएको छ । नेपालमा हाइअल्टीच्युडका खेलमैदानको संख्या कम भएकाले पनि टोड्केमा खेलकुदको माध्यमबाट पर्यटकसमेत भित्राउन सकिने टोड्के हिल रिसोर्टका सञ्चालक भिम शेरचनले बताए । हाल पर्यटकीयस्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएको छ ।
रघुगङ्गा गाउँपालिकाले पदमार्ग, उद्यान, सडक निर्माण गरिरहेको छ । गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेक भने वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईवटा प्रतीक्षालय र दृष्यावलोकन गर्ने स्थलसहितको उद्यान निर्माण भएको छ ।
समुद्री सतहदेखि झण्डै २ हजार चारसय मिटरको उचाइमा अवस्थित टोड्केमा रहेको प्यूठानको स्वर्गाद्धारीको शाखा आश्रमसमेत रहेकाले धार्मिक पर्यटक समेत पुग्ने गर्छन् । टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धता समेत जनाइसकेका छन् भने गण्डकी प्रदेशकै सुन्दर पर्यटकीय गन्तब्य बनाउने अभियानमा स्थानीय सरोकारवाला सक्रिय भएका छन् ।





