
पोखरा/ झट्ट हेर्दा भिआइपीजस्तो । सुटबुट लगाएर ट्याक्सी समात्ने अनि लेकसाइड जाने । लेकसाइडमा पुगेपछि राम्रो होटलमा समेत बस्ने अनि डाइभरलाई समेत सुवाउने अनि नम्बर राख्ने । दोस्रो दिन पनि जुन होटलमा छाडेको हो, त्यही होटलमा बोलाउने विभिन्न ठाउँ अनि विभिन्न ठाउँ घुम्ने । ट्याक्सी चालक ग्राहको भेषमा आएका ती व्यक्ति पक्कै ठूला मान्छे हुन् भन्ने विश्वासमा पुग्छन् । हिमचिम बढ्छ ।
आफूलाई पहुँचवाला व्यक्ति भएको बताउने ती व्यक्तिले ट्याक्सी चालकलाई युएनमा डाइभरको जागिर मिलाइदिने विश्वाससमेत दिलाउँछन् । त्यतिमात्र होइन्, उनले नागरिकताको फोटोकपी, फोटो, लगायतका कागजात समेत माग्छन् । ठूला–ठूला व्यक्तिसँग कुराकानी गरेको नाटक मञ्चन गर्छन् ? अनि जागिरका लागि भनसुन गर्नपर्ने र रकम दिनुपर्ने प्रस्ताव राख्छन् । ट्याक्सी ड्राइभर ती व्यक्तिलाई करिब ३ लाख बुझाउँछन् । पैसा हात पारेपछि चाहिँ ती व्यक्तिको अत्तोपत्तो हुँदैन । बल्ल ट्याक्सी चालकले आफू ठगिएको चाल पाउँछन् ।
यो पोखराकै घटना हो । ट्याक्सी ड्राइभर अहिले आफू ठगिएको उजुरीसहित जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन् । कास्की प्रहरी र अनुसन्धानको क्रममा अन्य २ जना ट्याक्सी चालक पनि ती व्यक्तिबाट ठगिएको पाइएको छ । प्रहरी स्रोतका अनुसार जागिरका लागि रकम र कागजपत्र माग्ने र रकम मिलेपछि सम्पर्कविहीन हुने ती व्यक्तिले चालकले दिएको फोटो,नागरिकता तथा लाइसेन्सको फोटोकपीबाट नयाँ सिम निकाल्न गरेको पाइएको छ । नयाँ नम्बर प्रयोग गर्दै पुनः अर्को व्यक्तिलई ठग्ने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसभन्दा अघि मकवानपुर, चितवनलगायतका जिल्लामा पनि यस्तै प्रकृतिको ठगी भएको र पोखरामा भएको घटनामा पनि तिनै व्यक्ति संलग्न भएको प्रहरीको आशंका छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले बताए । प्रहरीले पोखराका सम्पुर्ण ट्याक्सी चालकलाई यो विषयमा जानकारी तथा सचेत समेत गराएको छ । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।





