पोखरा/ संसद दोस्रो पटक विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेता खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरे । त्यतिबेला युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत पनि गृहमन्त्री बन्ने दौडमा थिए । अधिकारी गृहमन्त्री नियुक्त भएपछि बस्नेतले प्रतिक्रिया दिँदै आफूलाई गृहमन्त्री बनाउने पक्कापक्की भए पनि ‘ओली वरपर घुम्नेले’ घुमाएर अधिकारीलाई मन्त्री बनाएको प्रतिक्रिया दिएका थिए ।
सर्वोच्च अदालतले अधिकारीसहित मन्त्रीहरुलाई नियुक्त भएको १३ दिनमै पदमुक्त गरिदियो । त्यसपछि पनि अधिकारी र बस्नेतको तिक्तता मेटिएन । अहिले युवा संघको महाधिवेशन आयोजक समिति घोषणा भएपछि उनीहरुको विवाद फेरि सतहमा देखिएको छ । युवा संघको गत पुस २८ र २९ गते पोखरामा बसेको सचिवालय बैठकका निर्णय उल्टाएको भन्दै बस्नेतले संगठन विभाग प्रमुखबाट अधिकारीलाई हटाउन माग गरेका छन् ।
आइतबार साँझ फेसबुकमार्फत् ७ बुँदे प्रश्न गर्दै बस्नेतले पार्टी संगठन विभाग अधिकारीले चलाउन नसक्ने भएकाले तत्काल पदमुक्त गर्न माग गरेका छन् । बस्नेतले फेसबुकमा लेखेको ७ बुँदे प्रश्न यस्ता छन् ।
क.खगराज अधिकारी
१) पार्टीको जन वर्गीय संगठनहरु राजनैतिक रूपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रूपमा आफ्नै विधान र स्वायत्त ढङ्गले अगाडी बढ्ने गर्दछन् ।
२) पार्टीको सचिवालयको बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि सो सँग बाझिने गरी केन्द्रीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ?
३) युवा संघले सचिवालयको आधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरूलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?
४) संगठनको इन्चार्ज , अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?
५) एमालेविरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हावी हुने र विरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नुभयो ?
६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ, तपाईं संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन ।
७) तसर्थ क.खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।
युवा संघका पूर्वअध्यक्ष रहेका बस्नेत हाल एमाले युवा संघका इन्चार्ज छन् । ओली प्रधानमन्त्री रहेकै बेला तत्कालीन राष्ट्रिय जनता पार्टीका सांसद अपहरण, गुण्डागर्दीलाई प्रोत्साहन र ढाकछोपलगायतका आरोप लागेका बस्नेतले युवा संघमा आफु पक्षधरलाई मात्र नेतृत्वमा ल्याउन खोजेपछि विवाद सतहमा आएको हो ।
युवा संघको पोखरामा बसेको सचिवालय बैठकले किरण पौडेलको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी बनाएका थिए । आयोजक कमिटीमा बस्नेत पक्षधर नेता कार्यकर्ता मात्र समेटिएको भन्दै बस्नेत इतर पक्षले असन्तुष्टि जनाएका थिए ।
युवा संघका उपाध्यक्ष रोशन बस्नेत, रमेश पौडेललगायत महाधिवेशन आयोजक कमिटी गठनप्रति असन्तुष्ट नेता कार्यकर्ताले पार्टी अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख अधिकारीलाई ध्यानाकर्षण गराएका थिए । सचिवालय बैठकले गठन गरेको महाधिवेशन आयोजक कमिटी मात्र होइन, प्रदेश र जिल्ला तहसम्म बस्नेतले एकलौटी गरेको भन्दै नेता कार्यकर्ताले समानान्तर कमिटी बनाउने चेतावनीसमेत दिएका थिए ।
युवा संघका एक पदाधिकारीका अनुसार पार्टी अध्यक्ष, महासचिव र संगठन विभाग प्रमुखले पुरानै कार्यसमितिले महाधिवेशन गर्ने निर्णय दिएपछि अधिकारीविरुद्ध बस्नेत फेसबुकमा पोखिएका हुन् । एमालेको आन्तरिक राजनीतिमा अध्यक्ष ओलीले बस्नेतलाई पन्छयाएर गृहमन्त्रीमा अधिकारी रोजेदेखि २ नेताबीच तिक्तता बढेको कार्यकर्ताको बुझाइ छ ।
यसबारे संगठन विभाग प्रमुख खगराज अधिकारीले भने सामान्य प्रतिक्रिया मात्र दिए । बस्नेतले सोधेको ७ बुँदे प्रश्नका बारेमा अधिकारीले जवाफ दिन आवश्यक ठानेन् । ‘उहाँले फेसबुकमा किन लेख्नुभयो, त्यसमा मेरो केही भनाइ छैन’ अधिकारीले भने, ‘उहाँ (बस्नेत)लाई जे लाग्यो, त्यही गर्नुभयो, त्यो छुट उहाँलाई छ ।’
युवा संघको केन्द्रीय सचिवालय बैठकमा आफू उपस्थित नभएको अधिकारीले बताए । सचिवालय बैठकका निर्णयका विषयमा अध्यक्ष ओलीसँग छलफल नभएको दाबी गर्दै अधिकारीले बस्नेतसँग आप्mनो कुनै वैरभाव नरहेको बताए ।
‘अध्यक्षज्यूसँग आज पनि मेरो छलफल भयो तर युवा संघको एजेण्डामा अहिलेसम्म हाम्रो छलफल भएको छैन’, उनले भने, ‘मैले पत्र पठाएर सचिवालय बैठक निर्णय उल्टयाएको छैन ।’
युवा संघमा बस्नेत दोस्रो पटक अध्यक्ष भएपछि महाधिवेशन हुन सकेको छैन । बस्नेतले महाधिवेशन नै नगरी निरु पाललाई युवा संघको नेतृत्व हस्तान्तरण गरेका थिए । ९ बर्षदेखि महाधिवेशन हुन नसक्दा युवा संघको केन्द्रिय अध्यक्ष टिका लगाएर ८ जनालाई अध्यक्ष बनाइसकेको असन्तुष्ट पक्षको भनाई छ ।
पोखरामा बसेको सचिवालय बैठकले यही फागुन ११ गते केन्द्रीय अधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशन आयोजक कमिटीमा आफु पक्षधरलाई मात्र राखेर बस्नेतले विवाद सिर्जना गरेको भन्दै युवा संघका नेता कार्यकर्ताले तोकिएको समयमा अधिवेशन हुनेमा आशंका व्यक्त गरेका छन् ।





