पोखरा/ नेपाली कांग्रेस कास्कीले महासमिति सदस्यको निर्वाचन यही फागुन १० गतेभित्र गर्ने निर्णय गरेको छ । केन्द्रिय समितिको परिपत्रअनुसार १० गतेभित्र महासमिति सदस्य निर्वाचन गरिसक्ने निर्णय गरेको जिल्ला सचिव भानु ढकालले बताए ।
नेपाली कांग्रेसको विधान अनुसार प्रतिनिधी सभाको एउटा क्षेत्र बराबर २५ जना महाधिवेशन प्रतिनिधी हुन्छन् । एउटा निर्वाचन क्षेत्रबाट ११ जना मात्र महासमिति सदस्य निर्वाचित हुने सचिव ढकालले बताए । महासमिति सदस्य छान्न फेरी क्षेत्रीय प्रतिनिधीको भेला गरेर निर्वाचन गर्नुपर्ने उनले जानकारी दिए ।
नेपाली कांग्रेसमा महाधिवेशनपछिको ठुलो निकाय महासमिति हो । महाधिवेशन पश्चात पार्टीले गरेका निर्णयहरु महासमितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था कांग्रेसले विधानमा गरेको छ ।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले दलित समुदायको निशुल्क स्वास्थ्य बिमा गर्न सरकारसँग माग राखेको छ । गण्डकी सरकारले रगत निशुल्क वितरण गर्ने लोकप्रिय निर्णय गरेको भन्दै बैठकले स्वागत गरेको छ । निशुल्क रगत वितरण यथाशीघ्र कार्यान्वयनमा लैजान समेत बैठकले माग गरेको सचिव ढकालले बताए ।
बैठकले पोखरा वडा नम्बर २८ र १४ का पूर्व सभापति एवं प्रजातन्त्र सेनानी भोजराज त्रिपाठी र थानेश्वर पोखरेलको निधन प्रति दुख व्ययक्त गर्दै पार्टीलाई अपुरणीय क्षेती भएको जनाएको जनाएको छ ।





