पोखरा/ १६ औं सफल पोखरा म्याराथनमा केन्याका धावकले कीर्तिमान कायम गर्दै विजेता बनेका छन् ।
भूतपूर्व खेलाडी मञ्च कास्कीको आयोजनामा भएको म्याराथनमा अहिलेसम्मको रेकर्ड केन्याका दोस्रो भएका धावकले तोडिदिएका छन् भने प्रथम हुने धावकले नयाँ कीर्तिमानी कायम गरेका छन् ।
केन्याका धावक स्टेफन कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा निर्धारित ४२.१९५ किलोमिटको दुरी पार गर्दै नयाँ रेकर्ड राखेका हुन् । यो पोखरा म्याराथनकै सबैभन्दा छोटो समयमा पार गरिएको समय हो ।
यस्तै २ मिनेट पछि परेका केन्याकै सिमिओन केप्लागातोले २ घण्टा २१ मिनेट ३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे । उनीहरुले छैटौं संस्करणमा बनेको २ घण्टा २५ मिनेट ०१ सकेन्डको कीर्तिमान एक दशकमा तोडिदिएका हुन् । आर्मीका अर्जुनकुमार बस्नेतले राखेको रेकर्ड भंग गर्दै स्टेफनले नयाँ इतिहास बनाएका हुन् ।
विजेता स्टेफनले नगद ४ लाख रुपैयाँ र दोस्रो भएका केन्याकै सिमिओनले २ लाख रुपैयाँ हात पारे । आर्मीका मोहनदेव जोशीले २ घण्टा ३३ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे । सशस्त्रका धावक सन्तोष विक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै सान्त्वना स्थान प्राप्त गर्दै३० हजार रुपैयाँ प्राप्त गरे ।
महिलातर्फको हाफ म्याराथनमा नेपाल पुलिस क्लबकी राजपुरा प्रसाईंले जितिन् । उनले आफ्नै रेकर्डमा समेत सुधार गरिन् । अघिल्लो संस्करणको समेत विजेता उनले निर्धारित दूरी १ घण्टा २१ मिनेट २६ सेकेन्डमा पुरा गर्दै सुधार गरिन् । अघिल्लो वर्षको १५ औँ सफल पोखरा म्याराथनमा उनले १ घण्टा २७ मिनेट २० सेकेन्डमा पूरा गरेकी थिइन् । उनले नगद १ लाख रुपैयाँ हात पारिन् । यस्तै एपिएफकी बृन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो हुन पुगिन् । उनले ७५ हजार रुपैयाँ प्राप्त गरिन् । जुम्लाकी राममाया बुढाले तेस्रो हुँदै ५० हजार रुपैयाँ प्राप्त गरिन् । उनले निर्धारित दूरी १ घण्टा ३० मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । विदेशी धावक हेन्हा करसले १ घण्टा ३२ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गर्दै सान्त्वना स्थान हाँसिल गरिन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् ।
स्वच्छ वातावरणको प्रशंसा
पोखरा आफैँमा प्राकृतिक शहर हो । त्यसमा पनि देशकै पर्यटकीय राजधानी पोखरा । पोखरामा हुने सफल पोखरा म्याराथनको विशेषता नै छुट्टैछ । पोखरामा म्याराथनलाई उत्कृष्ट बनाउने माध्यम भनेकै यहाँको प्रकृति हो ।
पोखरामा शनिबार मौसम सफा नभएपनि केन्याली धावकले भने यहाँको सुन्दरताको बयान गरे । कीर्तिमानसमेत राखेका स्टेफन कोसगेइले पोखराको वातावरण निकै सफा रहेको सुनाए । उनले आफुले यस्तो स्वच्छ वातावरणमा दौडिन पाउँदा निकै खुसी लागेको सुनाए । ‘यहाँको मौसम निकै राम्रो रहेछ । यस्तो प्रदुषणरहित वातावरण पाउन मुस्किल छ’, उनले भने,‘धूलो धुँवा मैले देखिन, मौसमचाँहि अलि खुलेन ।’
पोखराको मौसम नखुल्दा हिमालको हेर्दै दौडिने मज्जा भने लिन पाएनन् । पोखराको म्याराथनजस्तो अन्य शहरमा सायदै देख्न पाइदैन । मठ मन्दिर, तालतलैया, हिमाल, हरियाली हेर्दै स्वस्च्छ वातावरणमा दौडिन पाउनु साच्चिकै स्वर्ग अनुभूत हुन्छ । पोखराको आतिथ्यता पनि उत्तिकै छ । विभिन्न आमा समूह तथा टोल विकास संस्थाहरुले धावकलाई चोकचोकमा बसेर स्वागत गरेको दृष्य पनि निकै मनोहक नै हुने गरेको छ ।
अझ अर्को, कुरा त पोखरा म्याराथनको मुख्य चुनौती भनेको सडक सुरक्षा हो । तर १६ औँ संस्करणको दौडमा भने खेलाडी सडक सुरक्षामा खुसी नै देखिए । कीर्तिमानी राखेको धावक स्टेफनले सडक सुरक्षाको पनि खुलेरै प्रशंसा गरे । ‘सडकमा दौडँदा गर्दा सवारी रोकिएको थियो । यहाँको प्रहरीले सबै सवारी रोकेर सुरक्षा दिएको देख्दा निकै खुसी लाग्यो’, उनले भने,‘म नेपालमा पहिलो पटक आएको हुँ । यो म्याराथन हुने शहर निकै गज्जब लाग्यो ।’
यस्तै महिला विजेता बनेकी राजपुरा प्रसाईं पनि सडक सुरक्षा व्यवस्थित नै भएको सुनाइन् । उनले दौडने क्रममा सवारी बाधक नबनेको बताइन् । ‘सडक व्यवस्थापन निकै राम्रो थियो । हामीलाई समस्या केही पनि भएन’, उनले भनिन् ।





