पाेखरा/पोखरामा आइतबार असिनाले सडक अवरुद्ध भयो । मानिसहरु हिँडडुल गर्न सकेनन् । बजार अस्तव्यस्त पारिदियो । मानिस बाहिर निस्कन सकेनन् ।
साँझदेखि शहर सामान्य अवस्थामा फर्कियो । असिनाको अस्तव्यस्तता समाप्त भए । यही असिनाले किसानका बाली पनि सामाप्त पारिदियो । पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले भने, ‘असिनाले यति ठूलो क्षति पु¥याउँछ भनेर आंकलन नै गर्न सकिएन ।’
सामुदायिक विद्यालयका प्राध्यानाध्यापकबाट अवकाश लिएर मेमबहादुर गुरुङ कृषिमा लागे । लमजुङको समी भञ्ज्याङस्थित संझना माविमा ३८ वर्ष अध्यापन गरेर गुरुङले पोखराको फूलबारीमा कृषि फार्म चलाएका थिए ।
उनले फार्ममा २२ वटा भैंसी पालेका छन् । १९ वटा टनेलमा तरकारी खेति लगाएका छन् । पोखरामा कृषिकर्म गर्न ४६ लाख लगानी गरेका गुरुङको बाली असिनाले स्वाहा बनाइदिएको छ ।
पोखरामा आइतबार दिउँसो परेको भीषण असिनाले गुरुङको तरकारी बालीका टनेल धुजाधुजा पारिदिएको छ । लामो समय परेको बाक्लो असिनाको भार भैसीं गोठको छानोले धानेन । असिना पानीसहित हावाहुरीले छानो खसाइदिएको छ ।
‘छानोले किचेर भैंसी सामान्य घाइते भएको छ, छरछिमेकका युवाहरुको सहयोगमा उद्धार गरिएको छ’ गुरुङले भने,‘तरकारी बालीको टनेल पनि असिनाले खत्तम पारिदियो ।’
उनका अनुसार तरकारी टनेलमा यही सिजनमा करिब २ लाख रुपैया बराबरको तरकारी लगाइएको थियो । गोठको छानो समेत गरेर १५ लाख बराबरको क्षति पुगेको गुरुङको आंकलन छ ।
फूलबारीकै आविष्कार पौडेलको कादुरी अर्गानिक फार्मका आलु खन्ने बेलाभएको थियो । उनले बारीमा एक सय किलो आलु रोपेका थिए । आइतबारको असिनाले आलुमा सबैभन्दा धेरै क्षेति पुगेको पौडेलले बताए । ‘थन्क्याउने बेला भएको आलु असिनाले खेर फालिदियो’, पौडेलले भने, ‘अरु तरकारीबालीका टनेल पनि क्षतविक्षत पारिदिएको छ ।’ यस सिजनका लागि उनले डेढ लाख रुपैयाका तरकारीबाली लगाएको बताए ।
पोखराको मालेपाटन क्षेत्रमा पनि असिनाले उस्तै क्षति पु¥याएको छ । झौखेत कृषि सहकारी र मालेपाटन किसान विकास समूहका अध्यक्ष नवराज दुवाडीका अनुसार किसानले फार्ममा पुगेर असिनाले पारेको क्षेति हेर्न समेत नसकेको बताए ।
‘असिना पानीमा खेतबारीमा जाने सकिएन, साँझसम्म पानी रोकिएको होइन,’ दुवाडीले भने, ‘कति क्षति भयो एकीन गर्न सकिएन ।’
दुवाडी अध्यक्ष रहेको कृषि सहकारी र समुहले मालेपाटनमा करिब १ हजार रोपनी जमिनमा तरकारी खेती गरेका छन् । कृषि सहकारीमा २ सय र कृषि समूहमा १ सय जना मिलेर उनीहरुले तरकारी रोपेका हुन् । फार्ममा सागसब्जी, काउली, बन्दा, खुर्सानीलगायत छन् । भित्राउने बेला भएको आलु असिनाले पूर्ण रुपमा नष्ट पारेको उनको अनुमान छ । ‘असिनाले बाली केही छैन, माटोमा मिलाइदिएको छ,’ दुवाडीले भने, ‘कोही भर्खर रोपिएका थिए, केही भित्र्याउने बेलाका थिए, सबै नष्ट पारिदियो ।’
पोखरामा असिना पानी यसवर्ष अप्रत्याशित छिटो परेको दुवाडीले बताए । ‘फागुनको तेस्रो हप्तातिर पथ्र्यो, त्यतिबेलासम्म आलु निकाल्न भ्याइन्थ्यो’, उनले भने ।
महानगरका कृषि महाशाखा प्रमुख कडरियाले पोखराका सबैजसो कृषि फार्म र कौसी खेतीलाई असिनाले क्षति गरेको बताए । पोखराको मुख्य बजार क्षेत्रदेखि लेखनाथ लगायतका स्थानमा भिषण असिना परेको कडरियाले बताए ।
पोखराका कृषि फार्महरुबाट असिनाले ठूलो क्षति पुगेको जानकारी आएको उनले बताए । प्राकृतिक प्रकोप रहस्यमयी भएको भन्दै उनले भने, ‘यति भीषण असिना हामीले सोचेका गरेका थिएनौं ।’
पोखरा महानगरले युवा स्वरोजगारदेखि, कृषि उद्यमीलाई आर्थिक र प्राविधिक सहयोग गर्ने नीति लिएको कडरियाले बताए । महानगरले शहरी खेतीका लागि कौसीमा तरकारी बाली रोप्ने किसानलाई पनि सहयोग गर्दै आएको छ । उत्पादनमा किसानलाई सहयोग गर्ने महानगरको नीति छ ।
महानगरका कृषि महाशाखा प्रमुख कडरियाले असिनालगायत प्राकृतिक विपत्तिमा परेका किसानलाई क्षेतिपूर्ति वा राहत दिने कार्यक्रम भने नभएको बताए । ‘असिनाले खाएको किसानलाई आगामी योजनामा प्राथमिकता दिन सक्छौं,’ कडरियाले भने, ‘असिना वा प्राकृतिक प्रकोपको क्षतिमा क्षतिपूर्ति दिने योजना हामीसँग छैन ।’पोखरा महानगरसँग मात्र होइन, प्राकृतिक विपत्तिमा परेका किसानलाई प्रदेश र संघ सरकारले यनि अहिलेसम्म सहयोग नगरेको किसानको गुनासो छ । प्राकृतिक प्रकोपबाट बालीमा परेको क्षेतिपूर्ति लिन कृषि बिमा उपयुक्त विकल्प रहेको कडरियाले बताए ।
पोखरामा कृषि फार्म चलाइरहेका मेमबहादुर गुरुङ, आविष्कार पौडेल र नवराज दुवाडीले कृषि बिमा गरेका छैनन् । पौडेलका अनुसार ३ महिना आयू रहेका बालीको बिमा गर्न लगानी मात्र बढ्ने बताए । ‘पोहोर तरकारीको बिमा गरेको थिए, फाइदा पाइएन,’ पौडेलले भने, ‘३ महिने बालीमा बिमा गर्दा खर्च मात्र बढ्ने रहेछ ।’
तरकारीबाली र भैंसी पालेका मेमबहादुर गुरुङ र सहकारी र समुहमा कृषि गरिरहेका दुवाडीले बिमा गर्ने बेला असिना परेको बताए । उनीहरुले पनि कृषि बिमा झण्झटिलो हुने प्रतिक्रिया दिए । बिमा गर्न सजिलो भए पनि भुक्तानी पाउन असिना परेको फोटो, भिडिओ, प्राविधिक रिपोर्ट, बिमा कम्पनीको अनुगमन लगायत झण्झटिलो प्रक्रिया राखेको उनीहरुको भनाई छ । दुवाडीका अनुसार बिमा कम्पनीमा किसानले तिर्नुपर्ने प्रिमियम सरकारले तिरिदिने बताए । तर, प्रभावकारी नभएको उनको पनि अनुभव छ । कृषि बिमा कार्यक्रम प्रभावकारी रुपमा किसानको खेतबारीमा पु¥याउनुपर्ने उनको भनाइ छ ।
‘हरेक बर्ष असिना आएकै छ, आउँछ भन्ने पनि थाहा छ,’ उनले भने, ‘प्रकोप हामीले सोचेभन्दा फरक तरिकाले आउने भएकाले बाली जोगाउन बिमा नै प्रभावकारी बनाउनुपर्छ ।’किसानले भने तीनै तहका सरकारले असिनाको क्षतिमा राहत दिनुपर्ने माग राखेका छन् । किसानको खेतबारीमा पुगेर सरकारले क्षेतिको मुल्याङ्कन गर्नुपर्ने र किसानलाई सक्दो राहत दिनुपर्ने उनको माग छ । कृषि समूह फार्म संचालक र कृषि सहकारी मिलेर असिनाको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउने दुवाडीले बताए । ‘किसानलाई असिनाले पु¥याएको क्षति सरकारले हेरेर बस्नु हुँदैन,’ उनले भने, ‘हाम्रा खेतबारीमा प्राविधिक पठाएर सरकारले सकभर राहत दिनुपर्छ ।’ असिनाले किसानलाई क्षति पु¥याइरहँदा पोखरा नगर क्षेत्रमा भने रमिता लाग्यो । सडकमा बाक्लो असिना परेसँगैे पोखरालाई स्वीट्जरल्याण्डसँग तुलना पनि देखिए । सामाजिक सञ्जालमा पोखराका मुख्य सहरी क्षेत्रमा असिनामाथि गाडी गुडेको तथा सडकमा असिना थुप्रिएका फोटोहरु पोष्ट भए । सडकमा असिना थप्रिँदा गाडी चलाउन मुस्किल भयो । स्काभेटर लगाएर सडकको असिना पन्छ्याइयो । बूढापाकाहरुका अनुसार पोखरामा फागुनको सुरुमै यसरी असिना परेको र सडकमा यति बाक्लो गरी थुप्रिएकै थिएन ।





