तनहुँ/ व्यास नगरपालिका–८ बर्लाचीमा सोमबार बिहान चितुवा मृत अवस्थामा फेला परेको छ । भाले बयस्क चितुवा मृत अवस्थामा फेला परेको हो ।
भाले प्रजातिको अन्दाजी १०÷१२ वर्षको चितुवा मृत अवस्थामा फेला परेको सव डिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइरालाले जानकारी दिए । भिरबाट लडेर वा आपसी द्वन्द्वका कारण चितुवाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीयवासीले मृत अवस्थामा चितुवा फेला परेपछि वन कार्यालयमा खबर गरेका थिए । चितुवालाई डिभिजन वन कार्यालय तनहुँमा राखिएको छ । ‘के कारणले चितुवाको मृत्यु भयो भन्ने बारेमा अनुसन्धानबाट खुल्नेछ’, कोइरालाले भने ।
विगत डेढ वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाको संख्या १० पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका-४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ बसन्तपुर, म्याग्दे गाउँपालिका-१ गुणादी, व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृत अवस्थामा फेला परेको थिए ।





