शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

भारतबाट सुटुक्क आएर नेपालमै सक्रिय थिए मानवतस्कर श्रीष

भारतबाट सुटुक्क आएर नेपालमै सक्रिय थिए मानवतस्कर श्रीष


  • हरिकृष्ण गौतम
  • फाल्गुन १० २०७८, मंगलबार

म्याग्दी/ भारतमा यौनगृह सञ्चालन गरेकी पार्वती चन्द श्रीषले यौन व्यवसायका लागि नेपालबाट युवतीलाई झुक्याएर लैजान श्रीमानलाई नेपालमै सक्रिय बनाउन खोजेको पाइएको छ ।लामो समयदेखि भारतमा वेश्यावृत्तिका लागि तोकिएका घरमा काम गरेकी चन्दले बेनी नगरपालिका–३,भकिम्ली ठोट्नेरीका जसबहादुर श्रीषसँग विवाह गरेपछि नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेकी थिइन् । कोठी (यौनगृह) मा काम गर्दा राम्रो कमाई नभएपछि म्याग्दीबाट श्रीमानलाई भेटाउने बहानामा एक महिलालाई लगेर बेचेका श्रीषले अब पोखरामै बसेर व्यवसाय गर्ने योजना रहेको भकिम्लीका स्थानीयलाई सुनाएका थिए ।

दशैंमा परिवारलाई भेट्न गाउँमा पुगेका उनले वडा कार्यालयमा पुगेर नागरिकता र विवाह दर्ताको प्रक्रियाबारेमा समेत चासो देखाएका थिए । वडाध्यक्ष पदमबहादुर पुनले भारतीय मुलकी महिलाजस्तै देखिने श्रीमतीलाई सिधै नागरिकता सिफारिस गर्न अस्वीकार गरे । श्रीषको विगतको चालचलन राम्रो नभएकाले वडाध्यक्ष पुन, वडा सदस्यहरूले समेत श्रीषको गाउँ बसाईकाबारेमा चासो देखाएका थिए । एकै रात गाउँ बसेर फर्किएका श्रीषले गत माघ ३ गते पुनः नागरिकताका लागि भन्दै श्रीमती र छोरीलाई लिएर गाउँ पुगेका थिए ।आफू पोखरामा बसेर श्रीमतीलाई भारत पठाउने बताउँदै थिए,पोखरामा बसेर ब्यवसाय गर्न घडेरी समेत किनेको सुनाउँदै थिए’,एक स्थानीयले भने ।

प्रहरीका अनुसार उनी नयाँ भेषमा नेपालमा बस्न खोज्दै थिए । कोरोनाको पहिलो र दोस्रो लहरसँगै भारतबाट नेपाल पसेकी पार्वती र उनका श्रीमान जसबहादुर पोखरा र बेनीबजारमा कोठा भाडामा लिएर बसेका थिए । वैदेशिक रोजगारी तथा अन्य कारोबारका लागि बैक खाता खोल्न समेत नागरिकता आवश्यक पर्ने भएकाले उनले आफन्तसँग सहयोग मागेका थिए ।

नागरिकता बनाउन निकै हतार गरेको देखिन्थ्यो,कमाई हुने क्षेत्रमा काम गरिरहेको छु भन्दै गाउँलेलाई समेत सुनाउने रहेछन्’वडाध्यक्ष पुनले भने । उनले भकिम्लीबासीकै बदनाम हुने गरी मानवतस्करमा संलग्न भएको प्रहरीमार्फत् जानकारी पाएपछि थप अनुसन्धानमा सघाउन गाडीको व्यवस्था मिलाएर पठाएको समेत बताए ।भारतमा बेचिएकी म्याग्दीकी एक महिलाको १६ वर्षपछि आफन्तले उद्धार गरी मानव बेचबिखन ब्यूरोमा परेको जाहेरीका आधारमा जसबहादुरको धन्दा सार्वजनिक भएको थियो । जाहेरीका आधारमा माघ ४ गते गाउँमा पुगेको प्रहरीको टोलीले बेनी ल्याउँदै गर्दा जसबहादुर र उनकी श्रीमती र छोरीले प्रहरीलाई आक्रमण गरेका थिए । श्रीमानलाई भगाउन पार्वती र उनकी छोरीले प्रहरीमाथि आक्रमण गदैं गाडीसमेत तोडफोड गरेका थिए । श्रीमानलाई ज्यानकै जोखिम मोलेर भगाउन सफल भएकी पार्वतीको गतिविधिले नै उनीहरूको नेपाल बसाई थप रहस्यमय बनेको घटनाका प्रत्यक्षदर्शीको भनाइ छ ।

चालक रोकालेसमेत पार्वती चन्दको गतिविधिलाई सामान्य महिलको रुपमा लिन नहुने बताए ।‘उनीहरुको प्रहारले एक प्रहरीको नै ज्यानै जाने खतरा थियोे,ढुंगाले सिधै प्रहार गर्दा बोलेरोको सिसा फुट्यो’,चालक रोकाले भने । बोलेरोबाटै चन्द र छोरी समेत भाग्न खोजेपनि सफल भएका थिएनन् । कोठी चलाउने पार्वतीलाई ब्यूरोमा पठाएकाले थप अनुसन्धान भइरहेको छ भने फरार श्रीषको सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । मुख्य अभियुक्त पार्वती र फरार जसबहादुरलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार २० वर्ष कैद सजाय हुने जनाइएको छ ।भारतमा सञ्चालित कोठीले राम्रो मूल्यमा यूवती किन्न छोडेपछि डेढदशक यता पार्वतीले नै कोठी सञ्चालन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । पार्वतीले विपन्न परिवारका युवती, विवाहित र पारपाचुके गरेका महिलालाई आर्कषक जागिरको प्रलोभनमा मानवतस्कर श्रीषले सिमापारी लैजान सघाउनेलाई २ देखि ३ लाख रुपैयाँ दिने गरेको बताइएको छ ।

श्रीमति हराएपछि माओवादीलाई लेखेको पत्र

वैदेशिक रोजगारीको सिलसिलामा भारतमा रहेका भकिम्लीकै लक्ष्मण क्षत्रीको श्रीमती र छोरालाई लिएर गएका जसबहादुरले यातायात भाडा र खानाको खर्च भन्दै श्रीमतिको एक तोला सुनसमेत लगेको खुलेको छ ।आफन्तको पूजामा आएको बेलामा श्रीमानसँगै काम गर्ने भन्दै २०६२ सालको पुस महिनामा पीडित महिलालाई दिल्लीमा लगेर सिधै यौनगृहमा बिक्री गरेका थिए । पीडित महिलाका श्रीमानले तत्कालीन समयमा प्रहरी र माओवादीका साथै भारतमा प्रकाशित हुने पत्रिकामा समेत सूचना दिएको देखिएको छ । पीडितका आफन्तसमेत रहेका भकिम्लीका वडा सदस्य रत्नबहादुर जिसीले तत्कालीन समयमा खोजीकार्य भएको बताए ।‘श्रीमानले नै बेचेजस्तो लागेको थिएन ,यो घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्नुपर्छ’ उनले भने । भारतबाट आएर बेपत्ता श्रीमती र छोराको खोजीमा धेरै वर्ष बिताएकोसमेत उनले बताए ।

बेचिएकी महिलाले फेसबुकमार्फत परिवारसँग सम्पर्क भई म्याग्दीकी एक महिलाको गत कात्तिकमा उद्धार गरिएको थियो । पीडित महिला नेपाल आएपछि उनले गत ९ मंसिरमा ब्युरोमा जाहेरी दिएकी थिइन् । श्रीमति भेटिएको खबर पाएपछि खाडीमुलुकबाट क्षेत्री नेपाल आउँदा ४ माघमा विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । पीडित महिलालाई बिक्रीमा श्रीमानको संलग्नता बारेमा अनुसन्धान सत्य भएमा कारवाही गर्नुपर्ने सुझावसमेत आफन्तको भएपनि श्रीमती र छोरा हराएपछि चिन्तित रहेका लक्ष्मण निर्दोष हुनसक्ने भएकाले निस्पक्ष अनुसन्धान गर्न अपील गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->