बागलुङ/नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ (ख) क्षेत्रीय समितिले ‘तरुण जागौं, गाउँ जाऔं जनता जगाऊँ कांग्रेस जिताऊँ’ अभियान संचालन गर्ने भएको छ ।
शनिबार कुश्मीशेरा बजारमा सम्पन्न क्षेत्रीय समितिको बैठकले निर्वाचनलाई लक्षित गरेर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आफ्नो क्षेत्रका १८ वटै वडामा निर्वाचन लक्षित कार्यक्रम संचालन गर्ने निर्णय भएको सभापति दलबहादुर श्रीष रानाले बताए ।
उक्त अभियानको सुरुवात फागुन १९ गते जैमिनी नगरपालिकाको कुश्मिसेरामा बृहत ¥याली तथा सभाको आयोजना गरेर हुने उनले जानकारी दिए । सभामा नेपाली कांग्रेसले गाउँ टोलसम्म ल्याएका कार्यक्रमबारे र एमसीसीको बारेमा प्रष्ट पारेर युवाहरुलाई परिचालन गरिने सभापति श्रीषले बताए ।
अभियान सवै वडामा संचालन गरिने प्रदेश समितिको सचिव बालकृष्ण शर्माले जानकारी दिए । क्षेत्रीय समितिले आगामी फागुन २५ गतेभित्र प्रदेश समितिका १८ वटै वडाका हरेक टोल टोलमा काँग्रेसको संगठन विस्तार गरेर क्षेत्रीय समितिलाई जानकारी गराउन वडा सभापतिहरुलाई आग्रह गरेको छ ।
बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी र बरेङ गाउँपालिका पर्ने यस क्षेत्रका सबै वडामा पार्टीको कार्यालय समेत स्थापनाका गर्नका लागि पनि प्रदेश समितिले आग्रह गरेको सचिव शर्माले बताए । समितिले गाउँ गाउँसम्म एमसिसिबारेमा कार्यकर्तालाई बुझाउनका लागि जिल्ला र केन्द्रीय समितिको सर्कुलर अनुसार कार्यक्रम तय गर्ने योजना बनाएको छ ।





