काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र लोकतन्त्रको रक्षाका लागि एमसिसीमा मध्यमार्गी बाटो खोजिएको बताएका छन् ।
एमसिसी अनुमोदन गर्ने पक्षमा उभिएपछि चौतर्फी विरोध भएपछि पत्रकार सम्मेलन गरेर प्रचण्डले भने, ‘संविधान र लोकतन्त्र नै खतरामा पर्ने देखिएपछि हामीले एमसिसीमा मध्यमार्गी बाटो खोजेको हौँ । एमसिसीको समस्या समाधान भएपछि अब गठबन्धन कायम रहन्छ । सरकार यही रहन्छ । अब हामी निर्वाचनको बाटोमा जाँदैछौँ ।’
उनले एमसिसी माओवादी केन्द्रको सरकार भएको बेलामा नै सुरु भएको प्रष्ट पारे । ‘हामीले नै एमसिसीमाथि छलफल सुरु गरेका थियौँ । पछिल्लो पटक नेकपा हाम्रो सरकार भएको बेलामा विवादमा आयो। केपी ओली एमसिसी संशोधनबिना नै पास गराउन चाहन्थे’ प्रचण्डले भने ।
संविधान र लोकतन्त्रमाथि नै घात हुने देखिएपछि राष्टिय सहमतिको प्रयास गरेको उनले बताए । एमसिसीकै कारणले गठबन्धन भत्किएर नयाँ समीकरण बन्ने खतरा बढेपछि आफूहरुले एमसिसीमा समाधानको विकल्प लिएको प्रष्टाए ।
प्रचण्डले भने, ‘जनतामा यतिधेरै विवाद भएको बेलामा राष्टिय सहमति खोजेका थियौँ । केपी ओलीलाई मनाउन म बालकोट जान तयारी थिए । तर, प्रधानमन्त्रीजी जाँदा पनि ओलीले मानेनन् । उहाँहरूले सभामुख र १४ सांसद हटाउनुपर्ने अडान राखिरहे । गठबन्धनमा दबाव बढ्दै गएपछि सहमति बनाएर सकारात्मक ढंगले अगाडि जान्छौँ भनेर पत्र लेखेका थियौँ । तर, मलाई भिलेनको रूपमा लिइयो ।





