पोखरा/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विरोध गर्नेहरुलाई उत्तेजनाको राजनीति गर्नेहरुको संज्ञा दिएका छन् । उनले संसदको रोष्टममा उभिएर एमसीसी राष्ट्रघाती भएको र मागेर देश चलाउने भन्दै आफ्नो आलोचना गर्नेहरुका छोराछोरी विदेश गइसकेको टिप्पणी पनि गरे ।
पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले भने,‘ मागेर देश चल्छ भन्नेका छोराछोरी अस्ति नै अमेरिका गइसकेका छन् ।’ उनले कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको भनाइ सापट लिँदै उत्तेजनाको राजनीति गर्ने मामिलामा माले, मण्डले र मसालेहरू एकै प्रवृत्तिको भएको आरोप लगाए । ‘मुठ्ठी कस्दै एउटा मण्डले आएर गफ दिन्छ– मागेर देश चल्छ ? मागेर अस्पताल बनाउने ?’,उनल भने, ‘गिरिजाबाबुले माले, मण्डले र मसाले एकै हुन् त्यसै भनेको होइन । उनीहरू उत्तेजनाको राजनीति गर्छन् । ’
उनी त्यतिमै रोकिएनन् । जाजरकोटमा हैजाको महामारी फैलँदा त्यहाँका स्थानीय माओवादी नेताको अभिव्यक्तिको दृष्टान्त दिँदै उत्तेजनाको राजनीति नेपालमा बिक्ने गरेको पनि स्वीकारे । उनले ती माओवादी नेताले बीबीसीलाई दिएको अन्तर्वार्ता सम्झँदै भने, महामारीबारे गरिएको प्रश्नमा ती नेताको उत्तर थियो– अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद अन्त्य हुन नसक्दासम्म हैजा परास्त हुन सक्दैन । त्यहाँको मान्छेलाई त्यस्तो सिकाइएको रहेछ ।, मैले माओवादी नेतालाई भनेँ –त्यस्तो दुर्गमा ठाउँमा गएर त्यस्तो सिकाउनु भएको रहेछ । बढो आत्मविश्वासका साथ भन्छ फेरि । त्यहाँको मान्छेलाई पानी उमालेर पिउनुपर्छ ,हात धुनुपर्छ, सफा हुनुपर्छ भनेको भए हैजा लाग्दैनथ्यो होेला । चेतनाको राजनीति र उत्तेजनाको राजनीतिको यो एउटा प्रमाण हो ।’
अहिले एमसीसीको प्रकरणसम्म त्यो हैजा प्रकरण एकै भएकोमा जोड दिँदै कांग्रेस महामन्त्री थापाले अगाडि भने,‘ संसदमा आएर यो (एमसीसी) पास गर्ने राष्ट्रघाती हुन् भन्ने र भारत र अमेरिका परास्त नभइ हैजा मर्दैन भन्ने एउटै हुन् । चरित्र एउटै हो ।’एमसीसी ल्याउन नेपालको तर्फबाट गरिएको लामो प्रक्रियाबारे चर्चा गर्दै उनले अहिलेको विरोध नबुझेर गरिएको नभएको बताए । उनले एमसीसी देशको लागि आवश्यक छ भन्ने विषयमा लामो व्याख्यानसमेत दिए । जनताले सोधे भने एमसीसीबारे प्रष्ट पार्ने र अन्य दलले सोध्दा केही नभन्न उनले कार्यकर्तालाई निर्देशन पनि गरे ।





