पोखरा/ नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियन कास्कीले आफ्ना उत्कृष्ट सदस्यलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ढोरपाटनकर्मी विजय नेपाली र गण्डकी प्रदेश प्रमुखका प्रेस संयोजक माधव रेग्मी रहेका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले उनीरुलाई सम्मानित गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेशमा ल्याउन लागिएको कानून सञ्चार क्षेत्र मैत्री हुने दोहो¥याए । पत्रकारिता क्षेत्र आफैमा मर्यादित तथा विश्वसनीय हुनुपर्नेमा जोड दिँदै उनले प्रेस युनियन कास्कीले सञ्चालन गरिरहेको आधारभुत पत्रकारिता तालिमले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने धारणा राखे ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशालाई जिम्मेवार र व्यावसायिक बनाउन सकेमात्र आम सर्वसाधारणको विश्वास जित्न सकिने बताए । युनियनले तीनदिने पत्रकारिता तालिम पनि संचालन गरिरहेको छ ।
नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्यले समाचार सत्य लतथ्यमा आधारित हुनुपर्ने बताउँदै त्यसले जिम्मेवार पत्रकारिता बढाउने बताए । नेपाली कांग्रेसका नेता गणेशबहादुर भट्टराईले पत्रकारिताले दक्ष र अदक्ष जनशक्ति बाहिरिनुको पीडा तथा सरकारले गरेका कामहरुबारेको जानकारी पस्कनुपर्ने सुझाव दिए । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षता एवम् सचिव प्रदीप पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, केन्द्रीय सदस्य टंकराज अधिकारी, युनियन कास्कीका सल्लाहकार राजबहादुर गुरुङ, सम्मानित व्यक्तित्वद्वय विजय नेपाली र माधव रेग्मी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललगायतले बोलेका थिए ।





