बागलुङ/ नेकपा एमाले बरेङ गाउँ कमिटीको अध्यक्षमा झोम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । शनिवार बरेङ बजारमा सम्पन्न गाउँ अधिबेशनले थापाको नेतृत्वमा सर्वसम्मत गाउँ कमिटि चयन गरेको हो ।
अधिबेशनको उद्घाटन गर्दै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसिसि)जस्तो सम्झौतामा माओवादी केन्द्र र एकिकृत समाजबादी पार्टीले खेलाँची गरेको आरोप लगाए । दुई देशका बीचमा भएको सम्झौतामा एकतर्फी व्याख्यात्मक टिप्पणी भनेर लागु नहुने बताए । उनले व्याख्यात्मक टिप्पणी लाज छोप्ने काम मात्रै भएको भन्दै सडकमा कार्यकर्ता उतारेर सदनमा एमसिसिको पक्षमा मतदान गर्नु दोहोरो चरित्र भएको आरोप समेत लगाए ।
स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत स्थानहरुमा जीत हाँसिल गर्ने भन्दै गुरुङले संगठन बलियो बनाईरहेको एमालेसँग गठबन्धन डराईरहेको बताए ।
यस्तै कार्यक्रम नेकपा एमाले का पोलिटब्युरो सदस्य तथा खेलकुद विभाग प्रमुख लीलाबहादुर थापाले राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज उठाउने राष्ट्रवादी र विकासवादी पार्टी एमाले मात्रै भएको दावी गरे । नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य मनकुमारी केसी, बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपाली, बागलुङ जिल्ला अध्यक्ष हिराबहादुर केसी, बागलुङ जिल्ला पूर्व कार्यवाहक अध्यक्ष कृष्ण पाठक लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।





