पोखरा/ गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालयलाई प्रविधिमैत्री कार्यालय बनाउ प्रदेश सरकार लागि रहेको गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले बताएका छन् ।
पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री थापाले सेवाग्राहीलाई यातायात कार्यालयमा छिटो–छरितो सेवा दिन सरकारले पहल गरिरहेको बताए । उनले कार्यालयमा ‘विचौलिया ’को भूमिका अन्त्यका लागि सुधारका प्रयासहरु भइरहेको पनि दावी गरे । कार्यक्रममा यातायात व्यवस्था कार्यालय गण्डकीका कार्यालय प्रमुख डिल्लीराम रिजालले यातायात क्षेत्रमा आम सेवाग्राहीहरुको गुनासोलाई मध्यनजर गर्दै छिटो–छरितो तवरबाट सेवा दिनका लागि आफूहले पहल गरिरहेको बताए ।
यस्तै, नेपाल प्रेस यूनियनका उपाध्यक्ष रमेश पौडेलले नागरिकले चाहेको समयमा सवारी चालक अनुमतिपत्र नपाइरहेको गुनासो संवोधन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृत बस्नेतले पछिल्लो समय पोखरामा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको बताए । संस्थाका अध्यक्ष मोहनबाबु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक हरि तिवारी, महासचिव दीपेन्द्र कोइरालालगायतले सवारीमा भन्सार छुटाएको १५ दिनभित्र गरिसक्नु पर्ने सवारी दर्ता प्रक्रियालाई बढाएर कम्तीमा ४५ दिन बनाउन पनि आग्रह गरे ।





