पर्वत/ विभिन्न कारणले करिब साढे दुई महिनादेखि उडान अवरुद्ध रहेको मुस्ताङको जोमसोम विमानस्थलमा आइतबारदेखि उडान पुनः सुरु भएको छ ।
कोभिडका कारण यात्रु ओसारपसार बन्द र त्यस लगत्तै मौसममा आएको खराबीका कारण पुस पाँच गतेपछि उडानहरू अवरुद्ध गरिएका थिए । जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माका अनुसार आइतबार पोखराबाट मुस्ताङका लागि पाँचवटा उडान भएका छन् । तारा र समिट एयरले उडान भर्ने भनिएको भए पनि पछि पाँच ओटै उडानहरू तारा एयरले भरेको शर्माको भनाई छ ।
कोभिडसँगैको लकडाउनका कारण सडक मार्ग र हवाई मार्गबाट पर्यटकहरु मुस्ताङ जाने क्रम बन्द रहेको थियो ।
विशेष गरी भारतीय तिर्थालुहरु मुक्तिनाथ दर्शनको लागि जहाजमार्फत मुस्ताङ जाने गरेका छन् ।
कोभिड संक्रमणको अवस्था कम बन्दै गएपछि उडान भर्न सकिने भए पनि वर्षा र हिमपातका कारण उडान अवरुद्ध नै रहेका थिए । तर, पछिल्लो समयमा मौसममा सुधार आएपछि आइतबारदेखि विमानस्थल नियमित उडानहरू पुनः सुरु भएको विमानस्थल प्रमुख शर्माले बताए ।
‘आइतबारका सबै उडानहरू तारा एयरले नै भरेको छ । अब भने पर्यटक वा यहीँका स्थानीय पनि जहाजमार्फत नियमित रूपमा आउजाउ गर्न सक्नुहुनेछ,’ उनले भने, ‘अब पर्यटकहरूको सिजन पनि सुरु भएको छ । उडानका लागि उपयुक्त मौसम पनि अब नै सुरु हुने हो । अहिले मौसम खुलेको छ ।’
हिमपात भएको बेलामा मैदान चिप्लिने लगायतका समस्याहरू देखा पर्ने भएकाले जहाज ल्यान्डिङमा समस्या आउने गरेको छ । यस्तै मुस्ताङमा उत्तरी हावा तीव्र गतिमा चल्ने भएका कारण जहाज हल्लिने लगायतका कारण पनि उडानमा समस्या हुने गरेको छ । अब बिस्तारै उत्तरी हावाको जोड कम हुँदै जाने भएकाले पनि अबको समय उडानका लागि उपयुक्त रहेको शर्माले बताए ।





