लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका-९, सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।
मंगलबार दिउँसो पौडी खेल्ने क्रममा फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी सनिज श्रेष्ठको मृत्यु भएको थियो। तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए।
होस्टेलबाट एक जना शिक्षक र दुई जना विद्यार्थी पौडी खेल्न मर्स्याङ्दीमा गएका थिए। उनीहरूमध्ये पौडी खेल्ने क्रममा नदीले बगाएर सनिजको मृत्यु भएको हो। शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित जिल्ला अस्पतालमा राखिएको छ।
मृतकका आफन्तले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थी लाने शिक्षकलाई कारबाहीको माग गरेका छन्। आक्रोसित आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका छन्। उनीहरूले २ वटा स्कुल बस, गाडी र भ्यान तोडफोड गरेको प्रहरीले जनाएको छ। आक्रोशित आफन्तले विद्यालय तोडफोड गरेपछि स्थिति तनावपूर्ण भएसँगै प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास समेत प्रहार गरेको थियो।






