बागलुङ/ जिल्लाका राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायतका दलले निर्वाचन लक्षित कार्यक्रम लिएर गाउँ पसेका छन् ।
नेपाली कांग्रेसले ‘घर घरमा जाउँ कांग्रेस जिताउँ’ अभियान सुरु गरेको छभने नेकपा एमालेले टोल टोलमा संगठन विस्तारको काम गरिरहेको छ । माओवादी केन्द्रले गाउँ केन्द्रित कार्यक्रम थालेको छ ।
राष्ट्रियष्य जनमोर्चाले बन्द र खुल्ला प्रशिक्षणलाई तिब्र बनाएको छ । पार्टीका कार्यक्रमहरुसँग उम्मेदवारको समेत चर्चा हुन थालेको छ । केही समयअघि भएका एमाले, कांग्रेस, माओवादीका जिल्ला र पालिका अधिबेशनमा जस्तै यस पटकको स्थानीय तहको निर्वाचनमा पनि युवा उम्मेदवारहरुको चर्चा बढी छ ।
‘पाका नेताहरुले टिकट पाउने कुरा एउटा पाटो हो, नयाँ पुस्ताले पनि परिवर्तनको आश राखेको छ’ नेपाली कांग्रेसका एक नेताले भने ‘राष्ट्रिय राजनीति, चुनावी कार्यक्रम र कार्यकर्ता तथा सर्वसाधारणको चासोमा उम्मेदवार को हुने भन्ने भर पर्छ ।’ चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा बागलुङ नगरपालिकाको निर्वाचन निकै पेचिलो हुने देखिएको छ ।
साना–ठुला सबै पार्टीमा आकांक्षीको संख्या धेरै रहेको बागलुङ नगरमा बन्ने उम्मेदवारका लागि जिल्लाभरकै ध्यान जाने कांग्रेसका निर्वतमान जिल्ला सभापति दिपेन्द्र थापाले बताए । बागलुङ नगरमा प्रमुखमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिए पनि निर्वाचनका लागि सम्भावित गठबन्धनका लागि सत्ता गठबन्धनका दलहरु र विपक्षमा रहेको एमालेका नेताहरुले पटक पटक छलफल गर्न थालेका छन् ।
निर्वाचनमा आफूहरूको सहभागितालाई सुनिश्चित गर्न पार्टीका नेता–कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयका छलफलले तीव्रता पाएका छन् भने अर्काेतिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरूको घरमा भीड लाग्न सुरु भएको छ । बागलुङमा आफ्नो नाम छुटेकोमा गुनासो गर्दै नेताको घर दैलोमा धाउनेको कमि नरहेको एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले बताए ।
उम्मेदवारको चर्चा चलिरहेकै बेला पुरानैलाई निरन्तरता दिनुपर्ने मतहरु पनि देखिने गरेका छन् । ‘राम्रा काम भएका ठाउँहरुमा अझै एक पटक उनीहरुलाई नै काम गर्ने मौका दिनुपर्छ’ बागलुङ नगरपालिकाका रामप्रसाद शर्माले भने ‘कतिपय काम सुरु मात्रै भएका छन् र राम्रा पनि छन्, कम्तिमा ती काम पुराहुन पाउँछन् ।’
जिल्लामा सक्रिय राजनीतिक पार्टी बाहिर–बाहिर आन्तरिक विवाद खासै नदेखिएको भए पनि भित्र–भित्र यी पार्टीका नेता कार्यकर्तामा महत्वकांक्षा र गुटगत स्वार्थ भने रहेको जनमानसमा चर्चा छ ।





