पोखरा/ नाबालिग गायिका बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपित नायक पल शाह (पूर्णविक्रम शाह) लाई प्रहरीले तनहुँबाट नवलपुर लगेको छ । बलात्कार विरुद्ध प्रहरीमा जाहेरी दिएपछि सडक र सामाजिक संजालमार्फत पलका पक्षधरहरुले पीडित विरुद्ध नारबाजी गरे, सार्वजनिक अभिव्यक्ती दिए ।
सामाजिक संजाल, युट्युबमा यस्ता घटना देखेकी पीडित नाबालिगका आमा भन्छिन्, ‘छोरीलाई रिप, हार्दिक श्रद्धाञ्जली लेखेको र बोलेको देख्दा एकदम आत्तिएको थिएँ, पागल जस्तो भएकी थिँए ।’
कसैले पलसँग पीडितपक्षले पैसा खाएको र बार्गेनिङ गरेको आरोप लगाए । पीडितको गोपनियताको हक उल्लङ्घन गरे । अहिलेसम्म कसैको एक पैसा नखाएको आमाले बताइन् ।
‘१०÷१२ वटा भैंसी पालियो, खेतीपाती गरेर खाइयो, अहिलेसम्म कसैको दुई पैसा खा’छैन, यस्तो देख्दा धेरै दिन रोएँ ।’
सामाजिक संजाल वा कुनै पनि सार्वजनिक माध्यममा पीडित विरुद्ध अभिव्यक्ती दिनेलाई प्रहरीले कारबाही गर्नुपर्ने आमाले माग राखिन् । अझ सामाजिक संजालमा पीडित गायिकाको आमा जनाएर मुद्धा फिर्ता लिने र प्रहरी हिरासतमै विवाह गरिदिने जस्तो अभिव्यक्ती आएको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन् ।
‘हामीमाथि त्यस्तो आरोप आउँदा ६, ७ दिन सुत्न सकिन, खान पनि सकिन,’ आमाले भनिन्, ‘जो जसले हामी विरुद्ध चरित्र हत्या गरे, उनीहरुलाई पनि कारबाही होस् ।’
पीडित परिवारका अनुसार गाउँमा पनि केही मान्छेले कुरा काट्ने गरेका छन् । शिक्षित समुदायले भने साथ दिएको परिवारले बताएका छन् । पीडित विरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न नसकेको भन्दै प्रहरीको आलोचना समेत हुँदै आएको छ ।
पीडित परिवार न्यायका लागि कानुनी उपचारमा आउनुअघि पटक पटक पीडक पक्षले मिल्न दबाब दिएको पीडित परिवारले बताएका छन् । पीडित नाबालिगका आमालाई फोन सम्पर्क र भेटेरै पीडक पक्षले मिल्न दबाब दिएका थिए ।
बलात्कार विरुद्ध जाहेरी दिन पहिलो पटक गत माघ ९ गते पीडित परिवार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका थिए । पलले पीडित नाबालिगका आमालाई फोन गरेर जाहेरी नदिन दबाब दिए । अन्तिम अवस्थामा जाहेरी नदिइकन पीडित परिवार पोखरा फर्किए ।
भोलिपल्ट माघ १० गते पोखरा आएर पलले घटनामा मिलापत्र गर्न दबाब दिएको परिवारजनले बताएका छन् । केही संचारकर्मीसमेत ल्याएर बलात्कारको उजुरी नदिन र मिल्न दबाब दिएको पीडित परिवारले जनाएका छन् । परिवारले बलात्कार मुद्धामा मिल्न नसकिने बताएपछि पलले फेरी आमालाई भेटेर मिल्न दबाब दिएका थिए ।
पीडित पक्ष नमानेपछि पलले बलात्कार विरुद्ध जाहेरी दिएमा आफ्नो पनि ‘करिअर’ सकिने र नाबालिग गायिकाको पनि करिअर सकिने भन्दै पीडितलाई आफ्नो पक्षमा पार्न खोजेका थिए । गाउँमा सामान्य किसानी गरेका आमा–बुबालाई प्रभावित पार्न पलले पटक पटक भेटवार्ता गरेको बुझिएको छ ।
विशेषगरी आमालाई पटक पटक फोन र भेटघाटमार्फत बलात्कार उजुरी दिनबाट रोक्न खोजेको आमालाई बताइन् । बलात्कार विरुद्ध उजुरी दिनु अघिसम्म पटक पटक धेरै जनाले फोन गरेर प्रहरीमा जानबाट रोक्न खोजेको आमाको भनाई छ ।
‘छोरीले फोन उठाएन भनेर मलाई फोन गर्थे, उजुरी दिन हुँदैन भन्थे,’ पीडित आमाले भनिन्, ‘उजुरी दिइयो, न्याय पाइन्छ भन्ने विश्वास छ ।’
कसरी पुगे पीडित प्रहरीसम्म ?
आफुमाथि भएको हिंसाबारे पीडित नाबालिगले पोखराका फिल्मकर्मी एवं पृथ्वीनारायण क्याम्पसका प्राध्यापक रेशम सापकोटालाई जानकारी गराइन् । सापकोटाले घटनाका बारेमा अधिवक्ता टंकप्रसाद पौडेललाई जानकारी गराएर नाबालिगसँग भेटाए । ‘पहिलो पटकको त्यो भेटमा पीडित नानी रोएका देख्दा उनलाई अन्याय भएको महशुष गरें,’ अधिवक्ता पौडेलले भने, ‘न्यायका लागि प्रहरीसमक्ष जान पीडितलाई आग्रह गरें ।’
त्यतिबेला पीडित नाबालिग एक्लै कास्की प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । उनलाई महिला प्रहरीले परामर्श दिइन् । प्रहरीले पीडितका आमा र बुबालाई बोलाए । पल शाह ठुलो सेलिब्रिटी भएको भन्दै त्यतिबेला पीडित परिवारले न्यायको आशा समेत गरेका थिएनन्, सबै मानिस आफुहरुका विरुद्ध खनिने भन्दै पीडक पक्षले नै चुनौती दिइरहेका थिए ।
पीडित परिवारलाई न्यायिक प्रक्रियामा जानबाट रोक्न पलले हदैसम्मका प्रयास गरेका थिए । कास्की प्रहरीले अपराधका घटना लुकाउन नहुने र न्यायमा लाग्न निरन्तर पीडित परिवारलाई परामर्श दिइरह्यो । पहिलो पटक उजुरी दर्ता गर्न तनहुँ जाँदा कास्की प्रहरीले नै गाडी र सुरक्षाकर्मीको व्यवस्था गरिदिएको डिएसपी सुन्दर तिवारीले बताए ।
‘पीडित परिवारलाई मंसिर ९ गते जाहेरी दिन जाँदा हामीले महिला प्रहरीसहित २ जना प्रहरी र गाडीको व्यवस्था गरेर पठाएका थियौं,’ तिवारीले भने, ‘उहाँहरुले अन्तिम अवस्थामा त्यो दिनमा जाहेरी दिनुभएनछ ।’
घटनालाई स्थापित गर्न कास्की प्रहरीले सरकारी वकिलको कार्यालय र नेपाल प्रहरीका उपल्ला निकायसँग पनि निरन्तर समन्वय गरेको जनाएको छ । घटनाको गम्भिरता हेरेर तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्का र अनुसन्धान अधिकृतलाई समेत पोखरामा बोलाएर घटनाका बारेमा विस्तृत जानकारी गराएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए ।
‘हामीकहाँ जाहेरी आएको होइन, पीडितलाई संरक्षण गरेर जाहेरी दिन तनहुँ पठाएको हो,’ एसपी थापाले भने, ‘छिमेकी जिल्ला घटनास्थल भएको र नजिकै भएकाले पनि जाहेरी दिन कानुन अनुसार तनहुँ पठाएका हौं ।’
पीडित परिवारलाई सुरक्षा दिन कुनै कसर बाँकी नराखेको थापाले बताएका छन् । पीडित परिवारको गाउँ र पोखरामा नाबालिग बसेको ठाउँसम्म प्रहरीले रेखदेख गरिरहेका छन् । गाउँमा पनि दिनहुँजसो प्रहरी आउने गरेको पीडित नालिगकी आमाले बताएकी छिन् ।
पीडित परिवारको गाउँमा प्रहरीले अपराध विरुद्ध सचेतना कार्यक्रम समेत आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोली शुक्रबार गाउँ पुगेर कानुनी सचेतना, अपराध, पीडितको गोपनियताको हक लगायतका बारेमा जानकारी गराउने डिएसपी तिवारीले बताए ।
कास्की प्रहरीकै साथले न्याय खोज्ने आत्मबल आएको पीडित बुबाले बताए । ‘हामीलाई केही पनि थाहा थिएन, सरहरुले नै न्याय खोज्नुपर्छ, हामी साथ दिन्छौं भन्नुभयो,’ उनले भने, ‘प्रहरीको साथले छोरीमाथि भएको अन्यायका विरुद्ध लड्ने निर्णय ग¥यौं ।’





