बागलुङ/राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।
निर्वाचनको समयमा दलहरुले गर्ने कार्यक्रमहरुमा हुने खर्च कम गर्न र विकासका काममा सझा धारणा बनाउनका लागि सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।
निर्वाचनको समयमा मात्रै दलहरु सक्रिय हुने गरेको भन्दै उनले सधैं जनता, र विकासका लागि काम गर्ने हो भने निर्वाचन केन्द्रित कार्यक्रम आवश्यक नरहेको बताए । ‘विकास गरौं, जनताको पक्षमा काम गरौं, जनताले हाम्रा काम हेरेर मत दिन्छन्’ अध्यक्ष तिमिल्सिनाले भने ‘मतदानको अघिल्लो दिन चामलका बोरा बाँडेर जितेका जनप्रतिनिधिले काम गर्न सक्दैनन् ।’
बागलुङमा सोमारदेखि सुरु भएको बृहत स्वास्थय शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले विकास निर्माणको सन्दर्भमा सबै राजनीतिक दलहरुको एउटै धारणा हुनुपर्नेमा जोड दिए ।
‘आज जितेको दलले राम्रो काम गरे भोलि पनि चुनाव जित्छ भनेर खुट्टा तान्ने प्रबृत्ति छ’ उनले भने ‘यो गलत प्रबृत्तिका बिरुद्धमा लागौं, नराम्रो मध्येको राम्रो दल छान्ने होईन राम्रो मध्येको राम्रो दल छान्ने वातावरण बनाऔं ।’ निर्वाचनको समयमा हुने झैझगडालाई लक्षित गर्दै उनले मतदाताको टाउको फुटाएर उसैसँग मत माग्ने नैतीकता राजनीतिक दलहरुसँग नहुने जिकिर गरे ।
अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताए । ‘कोरोनाले हाम्रो स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्न ठुलो सहयोग गर्यो, आवश्यकताको पहिचान भयो, अहिले यो क्षेत्र सुध्रिएको छ’ उनले भने ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकको तलवमानमा समस्या छ, शहर र गाउँ छुट्टयाएर काम गर्नेलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले नागरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्नसके अस्पतालको खाँचो नहुने धारणा राखे ।
कार्यक्रम प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले चिकित्सकहरुको तलवमान कम भएकै कारण ठुला शहर बाहिरका अस्पतालहरुले चिकित्सक अभाव भोगिरहेको बताए । ‘५०÷६० लाख खर्चेको चिकित्सकले पाउने तलब निकै कम छ, पढ्दा हुने खर्चको व्याजसमेत नउठ्ने तलब खाएर उनीहरुले कसरी काम गर्न सक्छन्’ पाठकले भने ‘गाउँका अस्पताल बलियो बनाउने हो भने तलबभत्ता बढाउनै पर्छ, सरकारको ध्यान जाओस् ।’





