शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

छ दिनपछि उठाउन थालियो पोखराको फोहोर

छ दिनपछि उठाउन थालियो पोखराको फोहोर


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७८, सोमबार

पोखरा/ ल्यान्डफिल साइट वासिन्दाको आन्दोलनपछि रोकिएको पोखराको फोहोर ६ दिनपछि उठाउन सुरु गरिएको छ । ल्यान्डफिल साइट प्रभावित स्थानीय, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरबीच आइतबार पुरानै सम्झौता एकहप्ताभित्र कार्यान्वयन गर्ने सहमतिपछि रोकिएको फोहोर उठाइएको हो ।

ल्यान्डफिल साइटका स्थानीय स्थानीय र पोखरा महानगरबीच ०७८ माघ १२ गते साइट क्षेत्रमा ल्यावसहितको सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने, वडा नम्बर १४ र ३३ जोड्ने सडक पुल निर्माणको डीपीआर यसैवर्ष गर्ने र अर्को वर्ष निर्माणका लागि बजेट विनियोजन गर्ने, ल्यान्डफिल साइट स्यानिटाइज गर्ने लगायत ७ बुँदामा सम्झौता भएको थियो ।
महानगरले आफूहरुसँग लिखित सम्झौता गरे पनि कार्यान्वयन नगरेर वेवास्ता गरेको भन्दै ल्यान्डफिल साइटका स्थानीयले चैत १ गतेदेखि फोहोर बोक्ने गाडी प्रवेशमै रोक लगाएका थिए । जसका कारण पोखरा महानगरमा दैनिक ठूलो मात्रामा फोहोर थुप्रिन सुरु गरेको थियो ।

‘स्थानीयसँग पुरानै सम्झौता एकहप्ताभित्र कार्यान्वयन गर्ने गरी प्रक्रिया अघि बढाउने सहमति भएको छ । सहमति पछि भर्खरैबाट उहाँहरु फोहोर बोक्ने गाडी चल्न दिन राजी हुनुभयो,’ पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख कल्पना बरालले भनिन्, ‘अहिले मुख्य बजार क्षेत्रको फोहोर उठ्न सुरु भइसक्यो ।’

पोखरामा दैनिक १ सय ८० टनभन्दा बढी फोहोर उत्सर्जन हुँदै आएको छ । विगत एकहप्तादेखि बच्छीबडुवाका स्थानीयले फोहोर बोक्ने गाडी रोक्दा ७ सय टनभन्दा बढी फोहोर थुप्रिएको थियो । जसका कारण महानगरको मुख्य बजार क्षेत्रमा हिँड्डुल गर्नै मुस्किल हुने गरी दुर्गन्ध फैलिएको थियो ।

पोखरा महानगरले पोखरा १४ बाच्छीबडुवालाई ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्दै आइरहेको छ । उक्त ठाउँलाई महानगरको ल्यान्डफिल साइटको रुपमा प्रयोग गर्न तत्कालीन पोखरा उपमहानगरसँग २०५७ सालमा सम्झौता गरेका थिए ।
ल्यान्डफिल साइट प्रभावित जनसरोकार समितिले आइतबार गरिएको सम्झौताअनुसार गाडी चल्न दिएको तर, फेरि वेवास्ता भए आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएको छ । ‘अहिले पुरानै ७ बुँदे सम्झौता अक्षरशः पालना गर्ने सहमति भएको छ । तर, फेरि पनि वेवास्ता भए आन्दोलन गर्न बाध्य हुनेछौं,’ समिति अध्यक्ष बोधराज कार्कीले भने ।

फोहोर हटाइसक्न ५ दिन लाग्ने

आइतबार साँझबाट फोहोर उठाउन सुरु गरिए पनि थुप्रिएका सबै फोहोर उठाइसक्न ५ दिनसम्म लाग्ने महानगरले जनाएको छ । आइतबार र सोमबार मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापन गरिसक्ने त्यसपछिमात्रै बाँकीको फोहो। उठाइने महाशाखा प्रमुख बरालले जानकारी दिइन् ।
‘आज र भोलि न्युरोड, नयाँ बजार, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जना चोक लगायत ठाउँको फोहोर उठाउँछौं । यो ठाउँको सबै फोहोर उठाउन सकभर छिटो गर्छौं,’ बरालले भनिन्, ‘बाँकी सबै वडावडाको फोहोर उठान त्यही ४, ५ दिनसम्म लाग्न सक्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->