पोखरा/ नामः अर्जुन कटुवाल । पदः नेपाली सेनाको क्याप्टेन । हालः शान्ति सेना मिसनमा कार्यरत । यी परिचयसहित फेसबुकमा एक युवक भेटिन्छन् । प्रोफाइल खोलेर हेर्दासमेत विश्वास नै लाग्छ । किनकी त्यहाँ उनका प्रायः फोटो नेपाली सेनाको पोशाकमै छन् । कुनै कुनै फोटो त अझ नेपाली सैनिक क्याम्पमा सिपाही साथीहरुसँगै ! शंका गर्नुपर्ने कुनै कमजोरी हुँदैन ।
त्यसै क्रममा फेसबुकमै अर्जुनसँग भेटिन्छिन्, ओखलढुंगा सिद्धिचरणकी ३५ वर्षीय सरिता खड्का । त्यतिबेला उनकी बहिनी नेपाली सैन्य पेशामा जाने तयारी गरिरहेकी थिइन् । नेपाली सेनाकै क्याप्टेन आफूसँग जोडिएर सहयोग गर्ने बताएपछि उनी पनि दंग थिइन् ।
बहिनीलाई सैन्य पेशामा भर्ती गराउन खड्कासँग कटुवालले १ लाख ५० हजार मागेका थिए । बहिनी सैनिक हुने लोभमा उनले ५० हजार रुपैयाँ आइएमई गरिन् । तर, लगत्तै उनले पनि फेसबुकबाट ब्लक भइन्् ।
०००
दुई भाइ सिंगापुर प्रहरीमा भर्ती हुने तयारीमा थिए । त्यसैक्रममा २०७६ मा ओखलढुंगा सानेभञ्ज्याङकी २८ वर्षीय सिर्जना तामाङ फेसबुकमा जोडिन्छिन्, अर्जुन एस मगर नामक एक युवकसँग । ती युवक आफू नेपाली सेनाको क्याप्टेन रहेको र सैन्य पेशाका ठूलाठूला मान्छेसँग चिनजान रहेको सुनाउँछन् ।
‘मेरो नेपाली क्याप्सनको क्याप्टेन हुँ । हाल शान्ति मिसनका लागि विदेशमा छु । तपाईंको भाइलाई सिंगापुर पुलिसमा भर्ती गरिदिन सक्छु,’ विश्वास दिलाउँदै मगरले तामाङलाई भन्छन्, ‘त्यसका लागि १५ लाख लाग्छ । अहिले ५ लाख दिएर पछि भर्ती भएपछि बाँकी पैसा दिए हुन्छ ।’
तामाङ २ भाइ सिंगापुर प्रहरीमा भर्ती हुने लोभमा ५ लाख रुपैयाँ आइएमईमार्फत पठाउँछिन् । उता भाइहरु भर्ती त हुँदैनन् नै दिएको पैसा समेत गुम्न पुग्छ । फेसबुकका साथी अर्जुन एस मगरले उनलाई ब्लक गरिसकेपछि बल्ल चाल पाउँछिन्, ‘अहो म त ठगिएँ ।’
यसरी परियारबाट ठगीमा पर्नेमा ५२ दोलखा वैदेश्वर गाउँपालिकाका ५२ वर्षीय अर्जुन बस्नेत पनि छन् । उनले छोरा देवराज बस्नेत नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट बनाउने लोभमा गएको कात्तिकमा ४ लाख रुपैयाँ बुझाएका थिए ।
आफूलाई नेपाली सेनाको क्याप्टेन बताउँदै ठगी गर्दै हिँडने व्यक्ति एउटै थिए, ३८ वर्षीय धनबहादुर परियार । आफूलाई ‘अर्जुन कटुवाल’का नाममा नेपाली सेनाको रुपमा चिनाउँदै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएको आरोप परियार अहिले प्रहरीको फन्डामा परेका छन् ।
परियार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ५ घर भई हाल उनी पोखरा १० अमरसिंह चोकमा बस्दै आएका छन् । उनी सिर्जना तामाङ, सरिता खड्का र अर्जुन बस्नेतको जाहेरीका आधारमा फागुन ३० गते पक्राउ परेका हुन् । उनले विभिन्न व्यक्तिलाई सिंगापुर पुलिस,
विभिन्न सैन्य पदमा भर्ती गराइदिन्छुु भन्दै लाखौं रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परियारले पीडितबाट आइएमईमार्फत पैसा मगाउँदा भने आफ्नो परिचय खुलाउँथेनन् । उनले त्यसमा आफ्ना नजिकका साथीहरु प्रयोग गर्ने गर्थे । ‘एक ठाउँबाट पैसा आउनुछ । त्यताबाट लिएर मेरो खातामा राख्दे है भन्दो रहेछ,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापा भन्छन्, ‘साथीहरुलाई पनि यो ठगी कार्यमा संलग्न छ भन्ने थाहै नहुने स्थिति थियो ।’
कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार परियारले आफूलाई क्याप्टेनका रुपमा सबैलाई विश्वास दिलाउन सबै पोशाक तथा तयारी सामान जम्मा गरेका पनि थिए । उनले पीडितलाई विश्वास दिलाउन महंगा खालका नक्कली धातुजन्य गहना लगाएर म्यासेन्जरमा भिडियो कल पनि गर्ने गरेका थिए ।
‘उनीसँग एकजना नेपाली क्याप्टेनका लागि चाहिने सबै सामान थियो । सामान्य तुम्लेटदेखि अन्य आवश्यक पोशाक सबै थियो,’ डिएसपी तिवारीले भने, ‘भर्ना छनोटका लागि चाहिने कागजपत्र समेत उनीसँग थियो ।’
प्रहरीले परियारबाट धनबहादुर परियार नामबाट लिइएको सवारी चालक अनुमति पत्र, अर्जन कटुवालको नामबाट लिइएको एसएलसीका प्रमाणपत्र, प्रेरणा बोर्डिङ स्कुलको चारित्रिक प्रमाणपत्र, नेपाली सेनाको सहसेनानी दर्जाको नक्कली परिचयपत्र, दज्र्यानी चिन्ह, नामको चेसप्लेट, नेपाली सेनाले प्रयोग गर्ने एक सेट चुस्ता बरामद गरेको छ ।
त्यस्तै, नेपाली सेनाको हरियो ज्याकेट, बेल्ट, दापसहितको खुकुरी, तुम्लेट, सेनाको आधिकारिक लोगोसहितको ड्रेस, ट्रयाकसुट, विभिन्न व्यक्तिहरुको नामको उपसेनानी पदको श्री भर्ना छनोट निर्देशनालय कार्यरथी विभागको जंगली अड्डाको उम्मेदवार फारम प्रहरीले बरामद गरेको छ ।
‘परियारको साथबाट सिपाही पदको परिचय पत्र, खाली कागजपत्रसहित अर्जुन कटुवालको नाममा बनाइएको जग्गाधनी पूर्जासहित बा ८४ प ६९८८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ,’ डिएसपी तिवारीले भने ।
परियार भगौडा नेपाली सेना
अनुसन्धानका क्रममा ठगी आरोपमा पक्राउ परेका परियार पहिले नेपाली सेनाको सिपाही मै कार्यरत रहेको खुलेको छ । उनले नेपाली सेनामा ५ वर्ष सेवा गरेर भागेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
‘२०५६ सालमा काठमाडौंको देवीदत्त गणमा सिपाही पदमा नियुक्त भएर ५ वर्ष सेवा गरेको पाइएको छ । त्यसपछि २०६१ सालमा त्यही गण धाडिङको गजुरीमा रहेको अवस्थामा भागेको खुलेको छ,’ एसपी थापाले भने, ‘त्यहाँबाट भागेर उनी मलेसिया पुगेको देखिन्छ ।’
प्रहरीका अनुसार मलेसियामा कार्यरत रहँदै बखतबाट परियारले ठगी गर्न सुरु गरेका थिए । त्यसैक्रममा उनी २०६३ सालमा नेपाल फर्किएर अर्जुन कटुवालको नामबाट एसएलसीका नक्कली कागजपत्र बनाएका थिए । ‘फेसबुकमा साथी बनाएर आफूचाहिँ शान्ति मिसनमा विदेश रहेको विश्वास दिलाउने, आफन्तलाई जागिर मिलाइदिन्छु भन्दै ठगी गरेको खुलेको छ,’ डिएसपी तिवारीले भने ।
२०७५ सालमा फर्किएर परियारले पोखरा अमरसिंहमै अर्जुन फ्रेस हाउसमेत खोले । त्यसैक्रममा उनले पोखरा भद्रकालीको एउटा पोशाक गृहबाट सैन्य पोशाक बनाएको खुलेको छ । डिएसपी तिवारीले भने, ‘उनले आफ्नै नामबाट बोक्ने गरेको सवारी लाइसेन्स पनि ३० हजार रुपैयाँ दिएर बनाएको पाइएको छ ।’
प्रहरीले परियारलाई ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभसम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिहेको जनाएको छ । ‘सरकारी छाप, दस्तखत किर्तेमा पनि अनुसन्धान गरिरहेका छौं,’ डिएसपी तिवारीले भने ।





