नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा इतिहासकै खराब प्रदर्सन गरेको छ ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग ९९ रनको हार व्यहोरेको हो । यो दोस्रो हार हो ।
२ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय ३ रनमा अल आउट हुनपुग्यो । नेपालको यो ओडिआई इतिहासकै सबैभन्दा कम योगफल हो ।
यसअघि ओडिआईमा नेपालको सबैभन्दा कम योगफल २०१९ मा युएईविरुद्ध पहिलो ओडिआई खेलमा १ सय १३ रन थियो ।
नेपालका ज्ञानेन्द्र मल्लले ६५ बलमा २ चौकासहित सर्वाधिक ३० रन बनाए ।
सोमपाल कामी ३५ बलमा १ चौकासहित १५ रनमा आउट भए । काशिफ दाउदको दोस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल अहमद राजाबाट ५ रनमा क्याच आउट भए ।
भुर्तेल यसअघि पपुवा न्युगिनीविरुद्ध १ र युएईसँग ११ रनमा आउट भएका थिए । ओमान भ्रमणमा पहिलो खेल खेलेका पवन पवन सरार्फलाई जुनैद्द सिद्दिकले तेस्रो ओभरको दोस्रो बलमा विकेटकिपर वृत्य अरविन्दबाट २ रनमा क्याच आउट गराए ।
लगत्तै अर्को बलमा दीपेन्द्रसिंह ऐरी गोल्डेन डक आउट भए । दीपेन्द्र पहिलो बलमै एज लागेर वृत्यबाट क्याच आउट भए । कासिफ दाउदको आठौं ओभरको अन्तिम बलमा रोहित कुमार पौडेल बासिल हामिदबाट ९ रनमा क्याच भएपछि नेपाल २१–४ को दयनीय अवस्थामा पुगेको थियो ।
पाँचौं विकेटका लागि आरिफ शेख र ज्ञानेन्द्र मल्लले ३३ रनको साझेदारी गरेका थिए । आरिफ ४० बलमा १ चौकासहित १५ रनमा क्याच आउट भए ।
ज्ञानेन्द्र मल्ल ६५ बलमा २ चौकासहित ३० रनमा एलबीडब्लू आउट भए । कप्तान अहमद राजको बलमा ज्ञानेन्द्र एलबीडब्लू आउट हुन पुगे । तल्लोक्रमका विनोद भण्डारी १६ बलमा २ चौकासहित १२ रनमा रन आउट भए । करण केसी ४ रनमा आउट भए ।
युएईका तीव्र गतिका बलर जुनैद्द सिद्दिकले ८ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए । कासिफ दाउद र अहमद राजाले २–२ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । युएईका अनुभवी बायाँ हाते अलराउन्डर रोहन मुस्तफाले ७३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए ।
युएईलाई ओपनर मोहम्मद वासिम र चिराग सुरीले पहिलो विकेटका लागि १६ ओभरमा ५७ रन बनाउँदै मध्यम सुरुवात दिलाएका थिए ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । मध्यगतिका बलर आरिफ शेखले ९ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ६ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।





