बागलुङ/ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले उठ्न नसक्नेगरी क्षति व्यहोर्ने बताएका छन् । धार्मिक ग्रन्थहरुमा उल्लेख कृष्ण र कंशको कथा सुनाउँदै गुरुङले कंशको वंस नास भएजस्तै माओबादी र एकिकृत समाजवादीको वंश नास हुने ठोकुवा गरे ।
उनले कम्युनिष्टको खोल ओडेर नोकरशाही पूँजीबादीहरुको सहारा लिने काम दुई दलले गरेको भन्दै उनीहरु जनतामा जाने नैतिकता गुमाएको आरोप लगाए । ‘कम्युनिष्टका नाममा कांग्रेसको बैशाखी टेकेर सत्तामा जानेहरु पत्तासाफ हुन्छन्’ गुरुङले भने ‘समृद्ध देश निर्माणका बाधकहरुसँग साँठगाठ गर्नेहरु बाधक मानिएको कांग्रेस भन्दा ठुला गद्धार हुन् ।’
उनले आउँदो स्थानीय तहको निर्वाचन राष्ट्रप्रेमी, न्यायको सारथी शक्ति र विकास बिरोधी विदेशीका दलालहरुको बीचमा प्रतिस्पर्धा हुने बताए । नेकपा एमालेले देश विकासको सपना देखेको भन्दै ति सपना साकार पार्न जनताले मत एमालेलाई दिने उनको जीकिर थियो ।
अहिलेको गठबन्धनले विकासको बाधक बनिरहेको भन्दै उनले समृद्धिको आधार तयार गर्ने एमाले मात्रै भएको जिकीर गरे । पार्टी कमजोर बन्दा जनता कमजोर हुने भन्दै उनले राष्ट्रबादी शक्ति एमालेमा जनलहर छाएको बताए ।
गुरुङले ललिता निवासको जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीले कारवाही प्रकृया थालेकै काररण नेकपा बिभाजनको अबस्था आएको बताए । ‘लडकाकुको भत्तामा भ्रष्टाचार गर्नेदेखी, ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाउनेसम्मको पुच्छर समातिए पछि पार्टीमा खटपट सुरुभएको हो, यो सबैकुरा हामिलाई थाहा छ’ गुरुङले भने ‘सदाचारका भाषण गर्नेहरुनै समातिने अबस्था थियो, कोही चोखा थिएनन् ।’ आसन्न स्थानीय तहको निर्वाचमा एमालेको जीत कसैले टार्न नसक्ने ठोकुवा गर्दै गुरुङले न्यायको सारथी भएका दलहरुले मात्रै निर्वाचनमा जनताको साथ पाउने बताए ।
कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य लिलबहादुर थापाले एमाले विचार र संगठनमा स्पष्ट रहेको पार्टी भएको बताए । गुरुङले नेकपा माओवादी केन्द्रका बागलुङ नगरअध्यक्ष इन्द्र केसी पारस र काठेखोला गाउँ कमिटिका उपाध्यक्ष बिष्णु खड्कासहितका ४० भन्दा धेरै नेता कार्यकर्ता एमालेमा प्रबेश गराएका थिए । एमाले बागलुङले आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका बिभिन्न तहमा संगठित युवाहरु र वाईसिएलमा संगठित युवाहरु एमाले प्रबेश गरेका थिए ।





