शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विपद्तयारी सिकाउँदै नेपाली सेना

विपद्तयारी सिकाउँदै नेपाली सेना


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७८, मंगलबार

बेनी / म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा निर्मित टहरामा अचानक आगलागी भयो । किराना पसल, आसपासमा गफमा ब्यस्त भएकाहरु आगलागी पछि सुरक्षित स्थानतर्फ भाग्न थाले । विना सावधानी आगो निभाउन खोज्दा दुई जना घाइते भए ।
आगलागीबाट आत्तिएका बालबालिका, महिला उद्धारका लागि गुहार माग्दै चिच्चाउन थाले । । म्याग्दी र कालिगण्डकीको संगमस्थल खुल्लामञ्चमा हेर्दाहेर्दै आगोको मुस्लो आयो । केहीबेरमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अग्नी नियन्त्रणका लागि आवश्यक उपकरण सहित घटनास्थलमा आइपुगेपछि आगो नियन्त्रणमा आयो । घाइते र घरबासविहिन भएकालाई सुरक्षित स्थानमा रहेको प्राथमिक उपचार केन्द्रमा लगियो ।

झट्ट सुन्दा घटनास्थलको अवस्था कुनै बस्तीमा आगलागी हुदाँको अवस्थालाई कल्पना गरिएपनि यो जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रकोप तयारी अभ्यासको हो ।जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना शसस्त्र र प्रहरी सहितको टोलीले कृत्रिम आगो लगाएर स्याउला, घरमा भएको पानी र दमकलसम्मको प्रयोग गरेर सेनाले आगो नियन्त्रणमा लिन सकिने विभिन्न उपायका बारेमा नमुना अभ्यास गरेको थियो ।

जिल्लामा आगलागीबाट मानवीय क्षती हुने क्रम बढ्न थालेपछि बस्ती, समुदाय र सार्वजनिक स्थानमा हुने आगलागी, घरमा खाना पकाउँदा ग्यासमा सल्किएको आगो नियन्त्रणमा आवश्यक सतर्कताका बारेमा अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए ।

अभ्यासमा नेपाली सेनाले विद्यार्थीलाई घरमा आगो लाग्दा, विद्युत सर्ट भएर आगो लाग्दा र पेट्रोलियम पदार्थ वा रसायनिक पदार्थका कारण आगलागी हुँदा कसरी नियन्त्रण गर्ने भन्ने सेनाले अभ्यासमा देखाएको थियो ।बेनी नगरपालिका, रघुगंगा गाउँपालिकाका प्रमुख तथा जिल्ला सुरक्षा समितिका प्रमुखहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, म्याग्दी बहुमुखी क्याम्पससहित सदरमुकाम बेनीमा अवस्थित विद्यालयका विद्यार्थी अभ्यासको अवलोकनमा सहभागी थिए ।

सोही अवसरमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो पालिकाभित्रका हरेक वडामा उक्त अभ्यासको आवश्यकता रहेको बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले म्याग्दीमा यसबर्ष आगलागीबाट दुई जनाको ज्यान गइसकेको तथा अन्य प्रकोपमा परेर समेत मृत्यु भएका घटनालाई मध्यनजर गरी अभ्यास गरिएको बताए । रानाले विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरी पालिकास्तरमा समेत नमुना अभ्यास गर्न सकिने बताए ।

ग्यास सिलिन्डरमा आगो लाग्दा…

म्याग्दीमा खाना पकाउने किचनमा आगो बाल्ने क्रममा वा अन्य असावधानीका कारण ग्यास सिलिन्डरबाट आगो लागेको घटना घट्ने गरेको छ । सहरबजारमा मात्रै ग्यासमा खाना पकाउने चलन अहिले म्याग्दीका अति विकट बस्तीहरूमा समेत पुगेको छ ।
खाना पकाउन दाउराको विकल्पको रुपमा अहिले ग्यास अधिकांशको घरभित्र हुन्छ । खाना पकाउन सजिलो हुने भएकाले दाउराको प्रयोग हराइसकेको अवस्थामा ग्यासलाई प्रयोग गरेपनि सामान्य ज्ञानको अभावका कारण ग्यासबाट सल्किने आगोले धनजनको क्षति हुने
जोखिम रहन्छ । त्यसरी ग्यास सिलिन्डरमा आगलागी भइहाले के गर्ने भन्ने बारेमा सोमबार म्याग्दीको सदरमुकाम बेनीमा नेपाली सेनाले नमुना प्रस्तुत गरी देखाएको छ ।

नेपाली सेनाका तीन जवानले सिलिन्डरको रेगुलेटरबाट पाइप छुटेर आगलागी भएमा नआत्तिकन औँलाले थिचेर आगो निभाउन सकिने, रेगुलेटरको चिसो ग्यास बाहिर निस्कँदा आयो र रेगुलेटरबीच औँलाले छेक्ने, सिलिन्डरबाट पाइप निस्केर आगो तन्ना, ब्लांकेट वा अन्य कपडाले छोप्दा हावा भित्र जान नपाएपछि निभ्ने, आगलागी भएको तत्कालै सिलिन्डरसम्म नपुग्ने भएकाले ग्यास पाइपको मुखमा औँलाले थिची आगो निभाउने, आगो निभ्नेबित्तिकै रेगुलेटर पनि अफ गरिहाल्नुपर्ने जस्ता सावधानका उपायहरु जानकारी गराइएको थियो ।
खुल्लामञ्चमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको विपद् ब्यवस्थापन पूर्व अभ्यासको क्रममा एउटा औंलाले निभाउन सकिने देखि अन्य घरेलु विधिका बारेमा समेत विद्यार्थीलाई नै डोमो गर्ने गरी अभ्यास गरिएपछि सहज भएको सहभागी विद्यार्थीको भनाइछ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->