बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले जैमिनीमा लिला र ताराखोमा ऋषिराम सर्वसम्मत उमेद्वार

एमाले जैमिनीमा लिला र ताराखोमा ऋषिराम सर्वसम्मत उमेद्वार


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७८, बुधबार

बागलुङ/स्थानीय तह निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पालिका प्रमुखका आकांक्षीहरुको छनोटका लागि छलफल थालेको छ । सोमबारबाट सुरु भएको छलफलमा बागलुङका केही स्थानीय तहमा सर्वसम्मत र केही स्थानीय तहमा तीन जनाभन्दा बढी आकांक्षी देखिएका छन् । जिल्लाका केही स्थानीय तहमा भने आकांक्षी के–कती छन् भन्ने टुंगो लागेको छैन । केन्द्रिय निर्देशन अनुसार बुधबारसम्म सबै वडा र पालिकामा उमेद्वारका आकांक्षीको टुंगो लगाएर मातहतको कमिटीमा पठाउनुपर्ने छ ।

जिल्लाको जैमिनी नगरपालिकामा एमालेबाट नगरप्रमुख र उपप्रमुख दुवै पदका लागि एक एक जना सर्वसम्मत छनोट भएका छन् । प्रमुखको उमेद्वारका लागि लिला राना र उपप्रमुखको उमेद्वारका लागि यमुना शर्माको सर्वसम्मत नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको नगर कमिटीका अध्यक्ष बद्री ढुंगानाले बताए । बागलुङमा सर्वसम्मत उमेद्वार टुंगो लगाउने जैमिनी पहिलो स्थानीय तह हो । जैमिनीका चार वडामा वडा अध्यक्षको उमेद्वार सर्वसम्मत टुंगो लागेको छ ।

वडा नं. ३ मा बहालवाला वडाध्यक्ष बेदप्रसाद छन्त्याल नै उमेद्वार हुने भएका छन् । वडा नं. ६ मा राजु थापा, वडा नं. ७ मा जयराम शर्मा र वडा नं. १० मा एमालेका पुराना नेता छबिलाल सुवेदार सर्वसम्मत छनोट भएको ढुंगानाले बताए । बाँकी वडामा वडाध्यक्षका उमेद्वार र वडा सदस्यका उमेद्वार टुंगो लाग्न बाँकी छ ।

बागलुङ नगरपालिकामा नगरप्रमुखका लागि ६ जनाले इच्छा देखाएका छन् । पालिका कमिटीको बैठकमा पार्टीको जिल्ला कमिटीका उपसचिव गणेश थापा, प्रदेश कमिटीका सदस्यहरु गीता शर्मा, कुमार खड्का, नगर कमिटीका अध्यक्ष धन बहादुर परियार, बहालवाला वडा नं. ५ का अध्यक्ष शिव सापकोटाले नगरप्रमुखमा आकांक्षा राखेका हुन् ।

उमेद्वारको छनोटका लागि छलफल सुरु हुनु पूर्व चर्चामा रहेका बहालवाला नगरप्रमुख जनकराज पौडेल र नेता कृष्ण पाठकले नगर कमिटीको बैठकमा इच्छा जाहेर गरेनन् । आकांक्षीको संख्या धेरै भएपछि नगर कमिटीले थप छलफल थालेको छ । बुधबारसम्म छ जनाकै जिकिर कायम रहेमा सबैको नामावली जिल्ला कमिटिमा पठाईने अध्यक्ष धन बहादुर परियारले बताए । नगरका १४ वडामध्ये वडा नं. २ मा रामबहादुर जिसी र वडा नं. १३ मा टेकबहादुर रोका सर्वसम्मत छनोट भएका छन् । बाँकी वडामा छलफल चलिरहेको छ ।
काठेखोला गाउँपालिकामा अध्यक्षका लागि चार जनाले आकांक्षा देखाएका छन् । बहालवाला अध्यक्ष अमर थापा, पार्टीको पालिका कमिटीका अध्यक्ष डिलबहादुर कार्की, प्रदेश कमिटी सदस्य हुमकुमारी जिसी अञ्जु र युवा नेता खिमानन्द कँडेलले अध्यक्षको उमेद्वारमा दाबी गरेका छन् । थापा र जिसी सम्धीसम्धिनी समेत हुन् । एक कार्यकाल काम गरिसकेका थापाले पाँच बर्षको अबधिमा गरेका कामका विषयमा अन्य स्थानीय तहको तुलनमा कम आलोचना हुने गरेको छ । पार्टीभित्र र बाहिर समेत उनको समर्थन राम्रो रहेकाले थापाको दाबीलाई शशक्त दाबीको रुपमा हेर्ने गरिएको छ ।

जिल्लाको ताराखोला गाउँपालिकामा एमालेबाट ऋषिराम रोका उमेद्वारका लागि सर्वसम्मत चयन भएका छन् । ताराखोलामा पनि वडाका उमेद्वारको छनोटको काम भने छलफलकै क्रममा छ । जिल्लाका अन्य स्थानीय तहमा सोमबारबाट सुरुभएको छलफल जारी रहेकाले बुधबारसम्म टुंगो लागिसक्ने जिल्ला सचिव बिष्णु भुसालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->