बागलुङ/अखिल नेपाल महिला संघकी केन्द्रिय संयोजक तथा पूर्वमन्त्री थममाया थापाले महिला सशक्तिकरणमा राज्यले थप लगानी गर्नुपूर्व बताएकी छन् । संविधानमा सहभागिताको बिषय उल्लेख भएको भएपनि व्यवहारमा त्यो कार्यान्वयनमा नरहेको भन्दै संविधानले महिलालाई दिएको अधिकार प्रत्याभुत गर्नु राज्यको दायित्व भएको उनको भनाई थियो ।
अखिल नेपाल महिला संघ बागलुङको छैटौं जिल्ला अधिबेशनलाई बुधबार बागलुङमा सम्बोधन गर्दै थापाले आउँदो स्थानीय तह निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताईन् । निर्वाचन केन्द्रित भएर लाग्न जिल्ला तहका नेता कार्यकर्तालाई निर्देशन दिँदै थापाले पार्टीभित्र महिलाको उपस्थितीको बिषय दह्रो गरी राख्न आग्रह गरिन् ।
उनले सत्ता गठबन्धनसँग लड्ने हिम्मत एमालेमा मात्रै रहेको भन्दै पहिलेभन्दा धेरै स्थानीय तहमा एमालेले जित हासिल गर्ने जिकीर गरिन् । बागलुङ बजारमा बुधबारबाट सुरु भएको अधिबेशनलाई सम्बोधन गर्न केन्द्र र प्रदेश तहका महिला नेतृहरु बागलुङ आएका थिए । अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिबेशनलाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश सहइञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले महिलामैत्री विकासको आवश्यकता रहेको औंल्याइन् । अर्की नेतृ टिका हमालले सबै तहमा महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताइन् । महिलाले नेतृत्व गरेका स्थानीय तहहरु सफल रहेको उदाहरण दिँदै महिना नेतृहरुले स्थानीय तहमा महिला नेतृत्वको दाबी गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य लिल बहादुर थापा, केन्द्रिय सदस्यहरु गोविन्द नेपाली, इन्द्रलाल सापकोटा, नरदेवी पुन, प्रदेश कमिटीका सदस्य तथा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, जिल्ला कमिटीका अध्यक्ष हिराबहादुर केसीले बोलेका थिए । जिल्ला अध्यक्ष सावित्रा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष यमुना राना र सञ्चालन सचिव लक्ष्मी बोहराले गरेका थिए ।





