पोखरा/ लगातार ३ दिन छलफल गर्दा पनि सहमति जुट्न नसकेपछि नेकपा एमालेले पोखरा महानगर प्रमुखमा सिफारिस गर्न मतदान गर्ने भएको छ । पोखरा महानगर कमिटीले शुक्रबार दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
पोखरा महानगर लागि नेकपा एमालेबाट १२ जनाले र उपप्रमुखमा ११ जनाले पार्टीभित्रै आन्तरिक उaम्मेदवारी दिएका छन् । मंगलबार नगर कमिटीले डाकेको बैठकमा ३ हजार रुपैयाँ तिरेर महानगरको मेयर पदमा आकांक्षा दर्ता गरेका थिए ।
पोखराका मेयरको आकांक्षीहरुमा प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य,
भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।
आकांक्षीबीच माथिल्लो तहका नेतालाई समावेश गरेर छलफल गर्दासमेत सहमति जुट्न नसकेपछि मतदानबाट टुंगो लगाउन लागिएको महानगर कमिटीका एक नेताले जानकारी दिए । ‘कसैगरी पनि सहमति नभएपछि अब निर्वाचनमै जानुपर्ने भयो,’ ती नेताले भने ।
मतदानबाट २ जना पुरुष र एकजना महिला गरी ३ जनाको नाम पोखरा महानगर प्रमुखको रुपमा सिफारिस गरिने छ । मतदानमा महानगर कमिटीका १ सय १० सदस्यले भाग लिनेछन् ।
पृथ्वीसुब्बा र खगराजबीच प्रतिष्ठाको लडाइँ
देशैभरिमा कास्की क्षेत्र एमालेको राम्रो प्रभाव भएको क्षेत्रका रुपमा मानिन्छ । तर, अध्यक्ष केपी ओलीकै पक्षधर भए पनि कास्कीमा स्थायी कमिटी खगराज अधिकारी र प्रचार विभाग प्रमुखसमेत उपमहासचिव पृथ्वीसुब्बा गुरुङ खेमाबीच प्रतिष्ठाको लडाइँ हुँदै आएको छ ।
एमाले स्रोतका अनुसार कास्कीमा शुक्रबार हुने चुनाव उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज आचार्यबीचको जुँगाको लडाइँ हो । पृथ्वीसुब्बा जसरी पनि पोखरा महानगरको मेयरमा आफू निकट व्यक्ति ल्याउन चाहन्छन् । महिलातर्फबाट मेयरको उम्मेदवार बनेकी मिना गुरुङ उनकी सम्धिनी हुन् । महिलाको तर्फबाट मेयरमा २ जनामात्रै प्रतिस्पर्धामा छन् । यसको मतलव ३ जनाको नाम सिफारिस गर्दा ३ मध्ये मिना आउने सम्भावना बढेको छ ।
सावित्री जिल्ला समन्वय समितिकी उपाध्यक्ष तथा खगराज निकट नेताको रुपमा चिनिन्छिन् । उता, पुरुषमा खगराज निकट कृष्ण थापा,दीलिप न्यौपान र वडा नंबर १३ का अध्यक्ष दर्शन लामा खगराजसँग निकट भएर काम गरिरहेका छन् । बाँकी सबै पृथ्वीसुब्बा निकट हुन् । तीमध्ये रुपाकोट रिसोर्टका सञ्चालन पुष्प अधिकारी भने सोझै पार्टी अध्यक्ष केपी ओली र उपाध्यक्ष विष्णु पौडेल निकट नेताको रुपमा चिनिन्छन् ।
‘आन्तरिक चुनाव हुँदा पुष्पले जित्ने सम्भावना कम छ तर यहाँबाट नाम सिफारिस हुने हो भने मेयरको टिकट उनले नै पाउन सक्ने पनि देखियो’,एमाले स्रोतले भन्यो,‘ त्यही सम्भावना बुझेर नै यहाँ सहमतिमा नाम पठाउन नेताहरु डराए, पृथ्वीसुब्बाले पनि बरु चुनाव नै गराएर आफ्ना मान्छे नै सिफारिस गर्ने निर्णय गरे ।’
यतिबेला पृथ्वीसुब्बाको प्यानलबाट हाइड्रो व्यवसायी पुष्पज्योति ढुंगाना बलियो उम्मेदवारको रुपमा अगाडि आइपुगेका छन् । उनलाई पार्टी सचिव पद्मा अर्यालको दह्रो समर्थन छ । पृथ्वीसुब्बा र पद्माको प्यानलबाट ढुंगाना, मिना गुरुङ र भीम कार्की तथा उपमेयरमा हरिमाया गुरुङलाई अगाडि सारिएको छ । मिना पहिलो नम्बरमा आए उपमेयरमा नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी अध्यक्ष संजिवबहादुर कोइरालाको सम्भावना पनि उस्तै रहेको स्रोतले बतायो ।
‘चुनाव हुने भएपछि अब कृष्ण थापामाथि घेराबन्दी सुरु भएको छ’, स्रोतले भन्यो, ‘तर पनि कृष्ण थापाले ८० मत ल्याउनुहुन्छ । उहाँ एक नम्बरमा सिफारिस हुनुहुन्छ ।’ खगराजको समूहबाट कृष्ण थापा,दर्शन लामा र सावित्री भण्डारी मेयरमा र उपमेयरमा देवका पहारी, शुष्मा पौडेल र वैनबहादुर क्षेत्री मैदानमा छन् ।
अघिल्लो स्थानीय तहको चुनावमा पनि नेकपा एमालेले आन्तरिक निर्वाचनबाटै उम्मेदवार छनोट गरेको थियो । त्यतिबेला पोखरा महानगरको कमिटी संरचना गठन नभइसकेकाले तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिकाका ४ सय ७३ जनाले मतदान गरेका थिए ।
अघिल्लो चुनाव प्रमुख र उपप्रमुख दुवै पदमा भारी मतान्तरसहित जितेको थियो । नेकपा एमाले मानबहादुर जिसीले निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मतान्तरले पराजित गर्दै भौगोलिक रुपमा सबैभन्दा ठूलो महानगरको प्रमुख बनेका थिए ।
त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार बढी मतान्तरले पराजित गरेकी थिइन् । मञ्जुदेवीले ५६ हजार ४४८ मत ल्याउँदा कांग्रेसकी सरस्वतीले ४४ हजार ३३८ मत पाएकी थिइन् ।
तत्कालीन समयमा कुल मतदाता १ लाख ६८ हजार ६८ रहेकोमा ७४.८३ प्रतिशत मत खसेको थियो । प्रदेश निर्वाचन कार्यालय, पोखराको हालको तथ्यांकअनुसार पोखरामा ३९ हजार ६३८ जना मतदाता बढेर कुल मतदाताको संख्या २ लाख ७ हजार ७०६ पुगेको छ ।





