पोखरा\ एमाले पोखरा नगर कमिटीले मेयर र उपमेयरका सबै आकांक्षीहरुको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको पोखरा नगर कमिटीको बैठकले सो निर्णय गरेको अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए ।
एमालले चुनावी कार्यक्रम सार्वजनिक गरिए पनि शुक्रबार पार्टीलाई एक बनाउन सबै आकांक्षीहरुको नाम केन्द्रमा पठाउने निर्णय गरिएको एमाले पोखरा नगर कमिटीका अध्यक्ष दीलिप न्यौपानले बताए । नगरसँग एक महिलासहित ३ जनाको नाम पठाउने अधिकार भए पनि मेयरको निर्णय केन्द्रबाटै हुने भएकाले सबैको नाम पठाइएको पनि उनले जिकिर गरे ।
तर, स्रोतका अनुसार केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज आचार्यले छुट्टाछुट्टै गुट बनाएर चुनावी अभियान तीव्र पारिरहेको बेला दुबै पक्षको दवाव थेग्न नसकेपछि नगरले यो निर्णय गरेको हो । एमालेको तर्फबाट पोखरा महानगर मेयरको लागि १२ र उपमेयरको लागि ११ जनाले आकांक्षा देखाएकोमा २ जनाले उपमेयरमा दावी छाडेका थिए । नेपाल उद्योग वािणज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइराला र जिल्ला समन्वय समितिका अध्यक्ष वैनबहादुर क्षेत्रीले उपमेयरको आकांक्षा त्यागेका हुन् ।
मेयरको लागि प्रदेश सांसद कृष्ण थापा र राजीव पहारी पनि मैदानमा छन् । प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् । त्यस्तै, उपप्रमुखमा शुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक र बिनकुमारी गुरुङ मैदानमा बाँकी छन् । बिनकुमारी गुरुङले शुक्रबारमात्रै उम्मेदवारी दिएकी हुन् ।
पछिल्लो समयमा पृथ्वीसुब्बा पक्षधरले हरिमाया गुरुङको नाम हटाएर बिनकुमारीको नाम समावेश गरेको हो । बिनकुमारीको समर्थक नै हरिमाय रहेकी छन् ।





