
बागलुङ/ बागलुङमा बसेको ५ दलीय चुनावी वार्ता निष्कर्षविहीन बन्दै गएको छ । दुई सातादेखि ५ दलका शीर्ष नेतृत्वबीच भइरहेको वार्ता निष्कर्षविहीन बन्दै गएकाले तालमेलको सम्भावनासमेत कम हुँदै गएको छ ।
नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलबीच भइरहेको छलफल निष्कर्षमा पुग्न नसकेको हो ।
नेपाली कांग्रेसले केन्द्रीय गठबन्धन तालमेल आधार अनुसार ठूलो दलको ‘दम्भ’ देखाउँदै आएको र अन्य दलले पनि सोहीअनुसार सम्मानजनक उपस्थिति खोजिरहेकाले वार्ता टुंगोमा पुग्न नसकेको एक नेताले जानकारी दिए ।
केन्द्रीय गठबन्धनले ०७४ सालमा प्राप्त मतलाई आधार मानेर छलफल गर्ने मापदण्ड बनाए पनि गठबन्धन घटक राष्ट्रिय जनमोर्चा त्यसपछिको पार्टीको आधिकारिक समानुपातिक मतमा ढोरपाटन र जैमिनी नगरपालिकामा पहिलो स्थानमा रहेकाले उसले ती पालिकामा दाबी गर्दै आएको छ ।
जैमिनीमा झिनो मतले पराजय भएको जनमोर्चाले समानुपातिक मतलाई आधार मान्दा पहिलो पार्टी भनेर दाबी गर्दै आएको र कांग्रेसले स्थानीय तहको निर्वाचनमा मेयर जितेकाले दिन नसक्ने बताएपछि वार्ताले सार्थकता पाउने सम्भावना निकै कम रहेको ती नेता बताउँछन् ।
शुक्रबारको वार्तामा राष्ट्रिय जनमोर्चा सहभागी भएको थिएन । जिल्ला अध्यक्ष अमर थापा, सचिव भीमलाल पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना र तिलक थापा जिल्ला बाहिर रहेका कारण वार्तामा सहभागी नभएको जनमोर्चा स्रोतले बताएको छ ।
जिल्लामा गठवन्धको चुनावी तालमेल न्युन हुँदै गएका कारण स्थानीय आवश्यकता अनुसार बाम गठबन्धनलाई पनि जोड दिन थालिएको छ । विगतको जस्तै मनमा ‘बाम’ र बाहिर नयाँ गठबन्धन भएकाले पनि वार्ताले गति लिन नसकेको हो ।





