शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पदमार्ग मासिएपछि साइकल मार्ग

पदमार्ग मासिएपछि साइकल मार्ग


  • हरिकृष्ण गौतम
  • बैशाख ४ २०७९, आइतबार

म्याग्दी/ करिब पाँच दशकअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका६, घोरेपानी, पुनहिलमा साँघुरा पदमार्ग हुदै पर्यटक पुग्ने गरेका थिए । विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्ण पदमार्गको १७ दिने यात्रा अन्तर्गत घोरेपानी १३ देखि १५ औं दिनको सुन्दर गन्तव्य थियो ।

बेंसीसहरबाट हिँड्दा पर्यटकले मनाङ, मुस्ताङ,म्याग्दी र कास्कीका ग्रामिण बस्ती थिचोल्दै यात्रामा रमाउने गर्दथे । झन्डै दुई साता लामो यात्रा अहिले सवारी साधनमा हिँडेकै दिन मानिसहरू तीन दिनमै म्याग्दीको घोरेपानीपुगेर बास बस्छन् ।

एक्पाप भित्रका पदमार्गलाई सडकले बिथोलेपछि अहिले पदैलयात्रामा रमाउने पर्यटकको संख्या ह्वात्तै घटेसँगै पदमार्ग आसपासमा रहेका होटल व्यवसायी समेत विस्थापित भएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट एक दिनको पदैलयात्रामा लाग्ने समुन्दी सतहदेखि ३ हजार २ सय १० मिटरको उचाइमा अवस्थित पुनहिलमा अहिले पाँच घण्टामै पुगिन्छ ।

नेपाल आउने पर्यटकमध्ये अधिकांशको रोजाइमा पर्ने विश्व चर्चित गन्तव्यको पदमार्ग मासेर मोटरबाटो निर्माण भएपछि पर्यटकको बसाइँ लम्बाउन जिल्लाको प्रमुख पर्यटकीयस्थल घोरेपानीदेखि वडा नं ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ ।

पदयात्रा छोट्टिएर दुईतीन दिनमा झरेपछि पर्यटकको बसाइँ लम्ब्याउन प्यारीबाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जंगलभित्र साइकल मार्ग सञ्चालन गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘पर्यटकहरू शान्त र प्राकृतिक वातावरणमा रमाउन पदयात्रामा निस्किन्छन् । अब नयाँ गन्तव्य बनाउने गरी नयाँ योजनासहित अगाडि आएका छौं,’ अध्यक्ष पुनले भने ।

८ हजार मिटर माथिसम्मका हिमाल अवलोकन,मनोरम हिमश्रृंखला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपंक्षी,वनस्पतीको साथै सूर्योदयको अवलोकन गर्न पाइने भएकाले पनि साइकल मार्ग सहज भएको बताए ।गुराँसको जंगलभित्र साइकल चढेर प्यारीबाराही ताल पुगेका पोखरा साइकल सिटीका १४ जनाको टोली साइकल चढेर घोरेपानी र पुनहिल पुगेका थिए ।

सिटीका सहसचिव धर्मसिंह लामिछाने नेतृत्वको टोली पुनहिल घुमेर कास्कीको उल्लेरी हुँदै पोखरा फर्किएका लामिछानेले पुनहिल घुम्न साइकल चढेर जान सकिने बताए । ‘मोटरबाटो पुग्यो, हिँड्ने बाटो मासियो । अब पदमार्गको विकल्प साइकलमार्ग हो,’ उनले भने ।

साइकल मार्ग भनेर धर्सा कोर्ने बित्तिकै सवारी सञ्चालन गर्न नसकिने भएकाले यस क्षेत्रमा निर्मित मार्ग सहज भएको बताए । उनले मार्ग बनेकाले अव स्थानीय होटल व्यवसायीले पर्यटकलाई साइकल भाडामा दिएर घुम्ने व्यवस्था मिलाउन सक्ने बताए ।

गतवर्ष प्रदेश सरकारको २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने तीन–तीन किमि दूरीको डेढ मिटर चौडाइ भएको घोडा र साइकल मार्ग निर्माण भएको थियो।गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा चरा अवलोकनस्थल र घोडा बाँध्ने तबेलासमेत बनाइएको छ । साइकल मार्ग बनेको क्षेत्र पर्यटकीय र धार्मिक दृष्टिकोणले समेत प्रख्यात छ ।

तस्वीर सौजन्यः सुरेन गुरुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->