पोखरा / नेपाली कांग्रेसको तर्फबाट पोखराको मेयरमा १८ जनाले आकांक्षा देखाएका छन् । कांग्रेस पोखरा नगर समितिले आकांक्षीको नाम मागेकोमा तोकिएको समय आइतबार अपरान्ह ४ बजेसम्म १८ जनाले मेयर र १० जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
मेयरको आकांक्षीमा गण्डकीका कानूनमन्त्री विन्दुकुमार थापा,कास्की कांग्रेसका वर्तमान सभापति किशोरदत्त बराल, निवर्तमान सभापति कृष्णबहादुर केसी, व्यवसायीहरु विश्वशंकर पालिखे,गणेशबहादुर भट्टराई,किरण केसी,बाबुराम गिरी,ऋषि सापकोटा, पत्रकार गंगाधर पराजुली,यसअघि उपमेयरमा पराजीत सरस्वती गुरुङ, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, पूर्वसचिव बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, , वीरेन्द्रनारायण बिजुक्छे, नेपाली कांग्रेस गण्डकी सहमहामन्त्री कोपिला रानाभाट र अधिवक्ता विश्व घिमिरे रहेका छन् ।
उपप्रमुखमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले पनि उम्मेदवारी दर्ता गरेका पोखरा नगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।
नेपाली कांग्रेस पोखरा नगर समितिले मेयर बन्नेसँग २५ हजार र उपमेयरसँग २० हजार रुपैयाँ लिएको थियो । फारामको ५ सयसहितको सो रकम सहयोग भएको सभापति विजुक्छेले जिकिर गरे ।
उनले अहिले आएका नामहरुबाट सर्वसम्मत बनाउन पहल गरिने तर सम्भव नभए सबै नामहरु केन्द्रमा पठाउने सम्भावना रहेको पनि बताए । अब कार्यसम्पादनको बैठक बस्छ ।
भोलिसम्म उम्मेदवारबीच सहमतिको वातावरण बनाउने प्रयत्न गर्ने हो । त्यो भएन भने, विधानले एक महिलासहित ३ जनाको नाम केन्द्रमा पठाउने भनेको छ’,उनले भने,‘ चुनाव गराएर बहुमतको आधारमा काम गरेर राम्रो हुँदैन कि भन्ने पनि छ । एमालेले आकांक्षीहरु सबैको नाम पठाएको (केन्द्रमा) छ । त्यसै गर्न पनि सकिन्छ ।’





