शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मन्दिरमा दलित आउँदा खुसी हुने पूजारी

मन्दिरमा दलित आउँदा खुसी हुने पूजारी


  • हरिकृष्ण गौतम
  • बैशाख ९ २०७९, शुक्रबार
मंगला गाउँपालिका–१,पूर्णगाउँ चिसापानीको दुर्गा मन्दिरका पूजारी चन्द्रबहादुर राम्जाली । तस्वीर: हरिकृष्ण गौतम

बेनी/ नेपालको संविधानले जातीय विभेदलाई प्रोत्साहन गर्न नपाइने उल्लेख भएपनि अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ ।छुवाछुत अपराध मानिएसँगै सहभोजको आयोजना गर्ने गरेपनि अझै पनि दलित र गैरदलितको मन्दिर नै अलगअलग भेटिन्छन्।

कथित उपल्लो जातिले चाहेको बेलामा मन्दिरमा पूजाआजा गर्दा दलित समुदाय चाडपवर्जमा समेत पुजारीकै अवरोधका कारण मन्दिरभित्र पस्नसमेत पाउँदैनन् ।तर,म्याग्दीको मंगला गाउँपालिका१,पूर्णगाउँ चिसापानीको दुर्गा भगवती कालिका माईको मन्दिरका पूजारी चन्द्रबहादुर राम्जाली भने दलित मन्दिरमा पुग्दा खुसी हुदै स्वागत गर्छन् ।पूजारी राम्जालीले दलित समुदायकाले समेत आफूले चाहेको बेला पूजा गर्ने सुविधा मिलाएका छन् ।
परम्परागत रूपमा रहेको कुसंस्कारको अन्त्यको आवश्यकता रहेको भन्दै पूजारी राम्जालीले मन्दिरभित्रका भगवानले दलित र गैरदलित भनेर छुट्टाउन नसक्ने बताए ।‘म दलित समुदायका पूजाआजा गर्न आउँदा धेरै खुसी हुन्छु,‘उहाँहरूको मन्दिरभित्र प्रवेश गर्दा उज्यालो अनुहार हुन्छ,’ पूजारी राम्जालीले भने ।

‘भगवान छोइन्छ’ भन्दै दलितलाई मन्दिरमा बेइज्जत गर्नेहरूलाई उदाहरण बनेको उनले बताए । उनले मन्दिरभित्रका भगवानलाई पूजा गर्दा सबै खुसी हुने बताउँदै मान्छेले मान्छेलाई भेदभाव गर्न तत्कालिन समयमा समाजमा केही टाठा बाठाले अर्कालाई निच देखाउने प्रयास गरेको बताए । आफूलाई ठूलो देखाउन हिन्दु धर्मभित्र गलत परम्पराको थालनी भएको बताउँदै पूजारी राम्जालीले मन्दिरमा दलितले नै बनाएको प्रसाद वितरण समेत गरिएको बताए ।

‘समाजका सबै एकैपटक मन्दिरमा प्रवेश गर्न मिल्छ,‘छुत अछुत हुन्छ भन्ने बनावटी कुरामात्रै हो’पूजारी राम्जालीले भने ।मन्दिरमा पूजारी बन्न चाहने दलित यूवाहरुलाई समेत स्वागत गर्न आतुर रहेको उनको भनाइछ । उनले छुवाछुतको अन्त्यमा करिब ५० प्रतिशतभन्दा धेरै भूमिका मन्दिरको पूजारीको हुने बताए । करिब तीन दशकदेखि मन्दिरको सेवामा सक्रिय राम्जालीले मन्दिरमा जानेलाई छुवाछुत गलत भएको भन्दै लामो प्रवचन समेत दिने गरेका छन् ।दैनिक मन्दिरमा आउने भक्तजनमा अहिले दलित समुदायका धेरै हुन्छन् । पूजाआजा गर्न सहज होस् भनेर उनले दलित अगुवालाई नै चावी समेत दिएका छन् । उनको सक्रियता र प्रयासलाई सबै जातीले साथ दिएका छन् ।

‘दलितले मन्दिरमा पूजा गर्दा धर्म नास हुन्छ भन्नेहरूलाई समेत खुसी बनाएर पठाएको छु‘ दलितमाथि थिचोमिचोले भगवान दुःखी हुनुहुन्छ भन्ने तर्कमा सिंगो समुदायको साथ छ’ उनले भने । मन्दिरमा छुवाछुत अन्त्य भएको जानकारी पाएपछि धेरै दलितले बषौंपछि मन्दिरको दर्शनका लागि आएको स्थानीय जनआवास आधारभुत विद्यालयका प्रधानाध्यापक सुनबहादुर विश्वकर्माले बताए । ‘पूजारीको सक्रियताले पनि छुवाछुतको अन्त्य हुन्छ,‘ जात फालेको आरोप लगाउनेहरू अहिले सँगै साथ दिएको देखेका छौ’ प्रअ विश्वकर्माले भने । उनले पूजारी राम्जालीबाटै मन्दिरमा दलितले बनाएको भोजन समेत ग्रहण गरेपछि अन्य जातिले समेत धमाधम लिन थालेको बताए । मन्दिरमा पूजाआजा गर्न पूजारीको न्यानो स्वागत र साथले स्थानीय दलित समुदायका बासिन्दा प्रफुल्ल भएका छन् । आधुनिक समाजमा दलितले छुँदा मन्दिर अपवित्र हुन्छ भन्ने भ्रमको अन्त्य गर्न एकपटक मन्दिरमा पाल्न समेत पूजारी राम्जालीले अनुरोध गरेका छन् । सन् १९८३ सालमा निर्मित जिर्ण मन्दिर निर्माणमा करिब ९ लाख खर्च भएपनि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशबाट ४ लाख, वडाबाट १ लाख ३० हजार, मंगला गाउँपालिका ८५ हजार बाहेक सबै चन्दा सहयोगमा चिटिक्कको मन्दिर बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->