बागलुङ/ स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठुला राजनीतिक दलहरुले दश वटै स्थानीय तहमा उम्मेदवारी दिएका छैनन् ।
उम्मेदवार टुंगो नलाग्दा नेकपा एमाले र सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलले उम्मेदवारी नदिएका हुन । आइतबार केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
पहिलो दिन ओटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसान बने । उम्मेदवारी दिने प्रयोजनको लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल कार्यालय नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिए ।
सत्ता गठबन्धनले भागबण्डा टुंगाउन सकेको छैन । नेकपा एमालले पनि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुंगो लगाउन नसक्दा मनोनयन रोकिएको हो । सर्वसम्मत पालिका प्रमुख र उपप्रमुख चयन भएको स्थानीय तहमा पनि एमालले उम्मेदवारी दर्ता गरेको छैन ।
सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन फुट्ने र गठबन्धनबाट अलग भएको पार्टी नेकपा एमालेसँग चुनावी एकता गर्न सक्ने अपेक्षाले पनि सर्वसम्मत उम्मेदवार टुंगो लागेको स्थानीय तहमा एमालले उम्मेदवारी दर्ता गरेको हो ।
पहिलो दिन जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रुद्रकुमारी रोका क्षेत्री, जैमिनी वडा–२ मा राप्रपाबाट वडाध्यक्षमा यज्ञप्रसाद सापकोटा र वडा–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिए । वडा नं. ६ मा राप्रपाका याम बहादुर क्षेत्री, वडा नं. ९ मा मंगोलियन नेशनल अर्गनाईजेसनका सहबिर थापाले उमेद्वारी दिनुभएको उनले बताए ।
उप–प्रमुखमा उमेद्वारी दिएकी क्षेत्री राष्ट्रिय जनमोर्चाकी नेतृ हुन् । उनी यसअघि राजमकोको सिफारिसमा जैमिनी नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएकी थिईन् । सत्ता गठबन्धनमा जैमिनी नगरपालिका प्रमुखमा राजमो र उपप्रमुखमा राजमोले उमेद्वारी दिने सहमति भएको थियो । गठबन्धनको छलफल टुंगो नलाग्दै क्षेत्रीको उमेद्वारीले गठबन्धनमा असर गर्ने तर्क गर्न थालिएको छ ।
त्यस्तै बागलुङ नगरपालिकाको उप–प्रमुखमा तारादेवी रिजालले उमेद्वारी दिनुभएको छ । उनले स्वतन्त्र उमेद्वारी दिए । ढोरपाटन नगरपालिकामा रापपाका निम बहादुर भण्डारीले मात्रै उमेद्वारी दिएका छन् ।
काठेखोला गाउँपालिका–५ बिहुँको वडाअध्यक्षमा होमनाथ कँडेलले स्वतन्त्र उमेद्वारी दिएका छन् । उनी नेपाली कांग्रेस समर्थित नेता हुन् । जिल्लाको तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकामा कसैको पनि उमेद्वारी तर्दा नभएको निर्वाचन अधिकृतहरुले बताए ।
बडिगाड गाउँपालिका वडा नं. ५ को अध्यक्षका लागि राप्रपाका शंखर खरेल र वडा सदस्यमा सिता आचार्यले उमेद्वारी दर्ता गराए ।





