बागलुङ/ स्थानीय तह निर्वाचनका लागि बागलुङमा एक हजार एक सय ६२ जनाको उमेदवारी परेको छ । ६ गाउँपालिका र चार नगरपालिकाको जनप्रतिनिधिका लागि एक हजार एक सय ६२ जनाको उमेदवारी परेको हो ।
प्रमुख/अध्यक्षका लागि ५६ जनाको उमेदवारी परेको छ । सबैभन्दा धेरै ढोरपाटन नगरपालिकामा दश जना, सबैभन्दा थोरै बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकामा ३/३ जनाको उमेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख/अध्यक्षका लागि बागलुङ नगरपालिकामा ९ जना, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र तमानखोला गाउँपालिकामा ६/६ जनाको उमेद्वारी परेको छ । बडिगाड गाउँपालिकामा ५ जना, ताराखोला र निसीखोला गाउँपालिकामा ४/४ जना, काठेखोला र बरेङ गाउँपालिकामा ३/३ जनाको उमेद्वारी परेको छ ।
उपप्रमुख/उपाध्यक्षमा ४२ जनाको उमेदवारी परेको छ । उपप्रमुख/उपाध्यक्षमा सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ६ जना र सबैभन्दा कम तमानखोला गाउँपालिकामा दुई जनाको मात्रै उमेद्वारी दर्ता भएको छ । काठेखोला, निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा ४/४ जनाको उमेद्वारी परेको छ । जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिका तथा बरेङ गाउँपालिकामा ५/५ जनाको उमेद्वारी परेको छ ।
बागलुङमा ८५ वडा अध्यक्षका लागि २ सय ६९ जनाको उमेद्वारी परेको छ । बागलुङ नगरपालिकामा ४९, काठेखोला गाउँपालिकामा २१, गलकोट नगरपालिकामा २८, जैमिनी नगरपालिकामा २९, ढोरपाटन नगरपालिकामा ३८, तमानखोला गाउँपालिकामा १७, निसीखोला गाउँपालिकामा १५ र बडिगाड गाउँपालिकामा २८ तथा बरेङ गाउँपालिकामा १३ जनाले वडा अध्यक्षमा उमेद्वारी दर्ता गराएका छन् ।
महिला सदस्यका लागि १ सय ९३ जना, दलित महिला सदस्यका लागि १ सय ८१ जना र खुला सदस्यका लागि ४ सय २१ जनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठेखोला गाउँपालिकामा १ सय जना, गलकोट नगरपालिकामा १ सय ३३, जैमिनी नगरपालिकामा १ सय ५, ढोरपाटन नगरपालिकामा १ सय ६४ र तमानखोला गाउँपालिकामा ८८ जनाले उमेद्वारी दिएका हुन् ।
त्यस्तै, ताराखोला गाउँपालिकामा ७२, निसीखोला गाउँपालिकामा १ सय १८, बागलुङ नगरपालिकामा १ सय ९४, बडिगाड गाउँपालिकामा १ सय २४ र बरेङ गाउँपालिकामा ६४ जनाको उमेद्वारी दर्ता भएको हो । जिल्लाभर नगरपालिका तथा गाउँपालिका प्रमुख÷उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य गरी ४ सय ४५ जना निर्वाचित हुने छन् ।





