बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मतदाता भन्छन् : जनता नठग्नेलाई हाम्रो मत

मतदाता भन्छन् : जनता नठग्नेलाई हाम्रो मत

पटक पटकका निर्वाचनमा गरेका प्रतिबद्धता र जिते वा हरेपछिका कामका विषयमा यो पटक सर्वसाधरण प्रश्न गर्ने मुडमा छन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७९, शनिबार

बागलुङ/ आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ को प्रचार प्रसरको काम दलहरुले सुरु गरेका छन् । मनोनयन, दाबीबिरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम सकिएसँगै अब दलहरुलाई प्रतिस्पर्धी र आफ्ना उमेद्वारको बिषयमा स्पष्ट भएको छ ।

चुनावी घोषणा पत्र, प्रतिबद्धता र संकल्प पत्रहरु लिएर दल तथा उमेद्वारहरु सर्वसाधारणको घरदैलो गर्दैछन् । निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा नदिए पनि दलहरु भने आफ्नो चिन्हमा मतदान गर्न सिकाउँदै गाउँ पस्ने छन् । आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उमेद्वार र दलहरुलाई यसअघिका निर्वाचनमा जस्तो सहज भने छैन् । सूचना प्रविधिको विकास, चेतनाको विकास र सामाजिक सञ्जाल लगायतका क्षेत्रमा भएको विकासले उमेद्वार र दलहरुलाई जवाफदेही बनाउने छन् ।

पटक पटक आश्वासनमा मतदान गरेका सर्वसाधारण यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उमेद्वारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन् । पटक पटकका निर्वाचनमा गरेका प्रतिबद्धता र जिते वा हरेपछिका कामका बिषयमा यो पटक सर्वसाधरण प्रश्न गर्ने मुडमा छन् । ‘यसपटक प्रतिबद्धता मात्रै होईन कामको योजनासहित आउने उमेद्वारलाई मत दिने मानसिकता बनाएको छु’ बागलुङ नगरपालिका–१२ अमलाचौरका बलराम चापागाईं भन्छन् ‘आश्वासन पहिला पनि पाईएको हो तर काम के कती भए भनेर हामी मतदाताले मुल्याङ्कन गर्नुपर्छ ।’

स्थानीय तह नजिकको सरकार हो । नजिकको सरकारका काम सर्वसाधारणले नजिकबाट नियालीरहेका छन् । बलराम जस्तै सर्वसाधारण यस पटक मत माग्न पुग्ने उमेद्वारसँग विगतका काम र भावी योजनाको फेहरिस्त माग्ने तयारीमा छन् । ‘काम गरेर खाने हामी सर्वसाधारणलाई झुटा आश्वासनले हुँदैन्, दुःख सुखमा साथ दिने जनप्रतिनिधि चाहिन्छ’ काठेखोला गाउँपालिका–७ का युवराज गौतमले भने ‘आँफै पछुताउन नपर्ने गरी मतदान गर्न उमेद्वारसँग प्रश्न गर्छौं र विश्वासीलो आधार दिनेलाई मतदान गर्ने सोँच छ ।’

बोलेका काम गरुन्, जनता नठगुन, स्रोत साधनले पुगेसम्मको विकासको काम गरुन नभए जनता खुसी हुने वातावरण सिर्जना गरुन भन्ने धारणा सर्वसाधारणमा विकास भएको उनले बताए । सडकमा मात्रै ध्यान पु¥याउने जनप्रतिनिधिले शिक्षा स्वास्थ्य, खानेपानी, सिंचाई र कृषि पूर्वाधारका क्षेत्रमा समेत योजना ल्याउन आवश्यक रहेको जैमिनी नगरपालिका–९ का स्थानीय राजु शर्माले बताए ।

‘पटक पटक कति ठगिनु, कति झुटा कुरामा अल्झिनु, दलका दासी जस्तो भइयो’ शर्माले भने ‘यसपटकको मत नठग्ने उमेद्वारको लागि हुनेछ, ठग्दिन भन्ने वातावरण उमेद्वारले बनाउनुपर्छ ।’ पुरा हुनै नसक्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख नगर्न समेत सर्वसाधारणको आग्रह छ । ‘थोरै काम गर्छु भनुन् तर काम गरुन्’ शर्माले भने ‘सपना ठुला–ठुला बाँड्ने काम स–कसाना पनि गर्न नसक्ने नहोस ।’
स्थानीय तहमा जनप्रतिनिधि हुनेले निर्वाचित भएपछि आँफु र आफ्नाहरुको मात्रै सेवामा लाग्दिन भनेर प्रतिबद्धता पत्रमा उल्ले गर्नुपर्ने सर्वसाधारणको माग छ ।

दलहरुले सक्रिय कार्यकर्ता भएको घर र गाउँमा टिका लगाएर पार्टीको सदस्य हो भन्ने र मत गनेर हारजितको आँकलन गर्ने प्रबृत्ति यस पटक अनुत्पादक हुने देखिन्छ । नयाँ पुस्तामा आएको सचेतना र विकासप्रतिको मोहले जुजारु र विकासप्रेमी उमेद्वार यस पटकको निर्वाचनमा विजयी हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->