गलकोट (बागलुङ)/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) गलकोटले स्थानीय तह निर्वाचन–२०६९ को प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आफ्ना उमेद्वारहरुको परिचय सहित एमालेले ‘समृद्व गलकोट, सुखी गलकोटबासी’ बनाउने प्रतिबद्धता सार्वजनिक गरेको हो । एमालेले गलकोट नगरपालिकामा प्रमुख पदमा पुर्ण काउचा र उपप्रमुख पदमा रुपा विश्वकर्मालाई अगाडि सारेको छ ।
‘समृद्ध गलकोट र सुखी गलकोटबासी’ भन्ने मुल मर्मलाई साकार पार्न एमालेले शिक्षा स्वास्थ्य, खानेपानी तथा ढल निकास, फोहोर व्यवस्थापन, सरसफाई, विद्युतीकरण, वैकल्पिक उर्जा, जलस्रोत तथा सिँचाई पुर्वाधार, सडक तथा यातयात, आवास व्यवस्था, कृषि तथा पशुपंक्षी, सहकारी क्षेत्रको विकास गर्ने रणनीतिक योजना अघी सारेको छ ।
त्यस्तै भुमी व्यवस्थापन शहरी विकास तथा बस्ती विकास, पर्यटन पुर्वाधार विकास तथा प्रर्वद्धन, कला संस्कृति तथा पुरातात्विक सम्पदा, युवा तथा खेलकुद, महिला समानता र सशक्तिकरण, जेष्ठ नागरिक बालबालिका अपाङ्गता भएका अशक्त र पछाडि परेका वर्ग तथा समुदायको उत्थान र सामाजिक सुरक्षा, गरिबी निवारण र रोजगारी सिर्जना लगायतका काम गरिने प्रतिबद्धतामा उल्लेख छ ।
वन तथा वातावरण एवं विपद् व्यवस्थापन, लघु उद्योग एवं बजार व्यवस्थापन, स्थानिय स्रोत साधन र राजस्व परिचालन, नगर सभा सञ्चालन र व्यवस्थापन, सूचना तथा सञ्चार प्रणाली, पालिका तथा वडा कार्यालय व्यवस्थापन र सेवा प्रवाह लगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने प्रमुख पदका उम्मेदवार पुर्ण काउचाले जानकारी दिए ।
प्रतिवद्वता पत्रमा प्राविधिक शिक्षा, बुहप्राविधिक विद्यालय सञ्चालन, गलकोटका सबै विद्यालय भवन बालमैत्री, अपाङग लैङ्गिक प्रविधि मैत्री बनाउने, एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्ने, आधारभुत स्वास्थ्य निशुल्क बनाइने, नगर अस्पताललाई ५० शैयाको बनाइने, सुत्केरी पोषण भत्ता वापत रु २ हजार उपलब्ध बनाउने, नगरपालिकाले आफ्रनै एम्बुलेन्स सेवा विस्तार गर्ने, गलकोटको मुख्य बजारमा ढल व्यवस्थापन गर्ने, विपन्न परिवारका लागि खानेपानीको महसुल नगरपालिकाबाट भुक्तानी गरिने, गलकोट नगरपालिकामा व्यवस्थित र सुरक्षित फोहोर व्यवस्थापनको केन्द्र स्थापन गर्ने, गलकोटको मुख्य बजारमा सोलारबाट सडक बत्ति जडान गरिने, बाझो÷सुख्खा जमिन भएका ठाँउमा कुलो, पोखरी, र स्रो नभएका ठाँउमा लिफ्टिङबाट ५ वर्ष भित्र सिँचाई पुर्याउने जनाएको छ ।
प्रत्येक वडा कार्यालयबाट नगरपालिकाको कार्यालयसँग जोड्न सडकलाई स्तोरोन्नती गर्दै कालेपत्रे गर्ने, नगरबस सञ्चालन गर्ने, स्थानिय स्रोत र साधनको प्रयोग गरि घरबिहिनको लागि आवासको व्यवस्थापन गर्ने, घर निर्माणको नक्सा मापदण्डलाई सरल सहज र समय अनुकुल बनाउने, एक गाँउ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, उद्यमी कृषकको लागि पालिकाबाट विमाको व्यवस्थपन गर्ने, एक वडा एक कृषि पकेट क्षेत्र तथा व्यवसायिक कृषि उद्यम सञ्चालन गर्ने, कृषि, स्वास्थ्य, फोहोर संकलन प्रशोधन जस्ता कार्य सहकारी मार्फत गराइने, सार्वजनिक जग्गालाई सुरक्षित र संरक्षण गर्ने, पर्यटन पर्वद्धनका लागि भइरहेका होम स्टेको स्तरिकरण गर्ने, पर्यटकिय स्थलसम्म पुग्न पदमार्ग निर्माण गर्ने लगायतका विषयवस्तु समेटिएको नेकपा एमाले गलकोट नगर कमिटीका सचिव दान बहादुर श्रीसले बताए ।
गलकोटको कला सँस्कृति तथा पुरातात्विक सम्पदा अन्तरर्गत पञ्चेबाजा सारङगी भजन बाजाहरु र पोशाक निशुल्क उपलब्ध गराउने, ऐतिहासिक संग्राहलय र मगर संग्राहलय स्थापना गर्ने, गलकोटमा भलिबल खेलको वृद्धि विकासका लागि भलिबल प्रशिक्षण सञ्चालन गरि नगर स्तरिय टिम छनोट गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
स्थानिय तहको निर्वाचन सफल पार्न नेकपा एमालेले बुल बहादुर केसीको संयोजकत्वमा ५ सय १ प्रचार प्रसार समिती समेत चयन गरेको छ । चुनावी अभियान अन्तर्गत १८ गते देखि २७ गते सम्म गलकोट नगरका विभिन्न वडामा चुनावी प्रचारप्रसार कार्यक्रम गर्ने तय गरेको बताएको छ ।





